बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आवास जोखिम विमा लागु गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नं. ७ मा ५ सय ३७ आवासलाई जोखिम विमा लागु गर्ने भएको हो । बाक्लो बस्तीका घरहरु तथा जोखिम युक्त घरहरु वडा नं.३ र ७ मा बढि भएको हुँदा सुरुवाती चरणमा यिनै वडाहरुलाई छनोट गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नगर भित्र अन्य वडाहरुका घरहरु जोखिममा नभएका होइन तर हामीले पहिलो सुरुवाती चरणमा ३ र ७ लाई लिएका छौं, विमा शुल्क वापत नगरले १५ लाख सम्मको रकम उपलब्ध गराउने छ ।’
शहरी विपद तथा भुकम्पीय पूर्व तयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडाहरुमा २० टोलमा शहरी विपद् र भुकम्पको बुझाईको अवस्था थाहा पाउन लक्षित समूह छलफल लगायतका क्रियाकलापहरु गर्दै अगाडि बढेको जानकारी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले बताउनुभयो ।
युनिसेभका अधिकृत नरेश निदालले पश्चिम नेपालमा आउने भुकम्पको अवस्थालाई अनुसन्धान गरेर नेपालगन्जका केही वडालाई छनोट गरी कार्यक्रम संचालन गरिएको बताउनुभयो । ‘अहिले अनुमानित रुपमा आठ सय घर मात्र लिएका छांै । यो संख्या बढन पनि सक्छ ।’ उहाँले भन्नुभयो,‘घनत्व बढि भएका भवन आचारसहिता भन्दा अघि बनेका घर तथा भवनको बिद्युत आचारसहिचा नभएका घरहरुलाई पहिलो प्राथमिकतामा राख्ेका छौं ।’
जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलो पटक नेपालगन्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागु गर्न लागिएको हो ।






