बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले नगरबासीका लागि श्रावण १ गतेदेखि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ । नगर भित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन सोमबारदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो ।
नगर प्रमुख प्रशान्त विष्टले बिरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि उक्त सेवा संचालन गरिएको बताउनुभयो,“स्थानीय सरकार जनताको सुखदुःखमा संगसंगै हुनुपर्दछ भन्ने हाम्रो मान्यताका साथ हामीले यो सेवालाई नगरमा आजदेखि विस्तार गरेका छौं ।” उहाँले भन्नुभयो,“अस्पतालसम्म पुग्न बिरामीले कुनै पनि प्रकारका कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको हो ।”
उपप्रमुख कमरुद्दिन राईले आकस्मिक विरामीहरुको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निःशुल्क एम्बुलेन्स सेवाले नगरवासी लाभान्वित हुने बताउनुभयो । स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले लुम्बिनी प्रदेशमै बाँकेमा उच्च रहेको मातृशिशु मृत्युदर घटाउन एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।
हाल नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र ३ वटा एम्बुलेन्स स्ट्याण्डबाई रहनेछन् । नेपालगन्जमा २० वटा एम्बुलेन्स संचालनमा छन् । निःशुल्क एम्बुलेन्स सेवाका लागि ९८०८८६४८८९ र ९८०८८६५०९९ मा जुन सुकै समयमा कल गर्न नगर प्रमुख विष्टले आग्रह गर्नुभयो ।






