रुपनी जि एम, बाँके । नेपालगञ्जमा अत्याधिक गर्मी बढेपछि बालबालिकाहरु बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखेकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । डा. प्रतिमाले बच्चाहरु ओपिडीमा दैनिक ५० जना आउने गरेको बताईन् । दिनमा २ देखि ३ जना बिरामी बच्चाहरु भर्ना हुने गरेको बालरोग विशेषज्ञ डा. प्रतिमाले बताईन् । उनले विशेष गरेर बच्चाहरुमा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बताईन् ।
उनले यो मौसमी रुघाखोकी र भाइरल फ्लूबाट जोगिन बालबालिकालाई माक्सको प्रयोग अनिवार्य गर्नु पर्ने, खाना खानुभन्दा अघि राम्री साबुन पानीले हात धोएर मात्र खाना खान सुझाव दिईन् । मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकाहरुलाई निको हुन सामान्यता ४ देखि ५ दिन लाग्ने डा. प्रतिमाको भनाई छ । अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नै बस्ने, धेरै हिंड्डुल नगर्ने सुझाब दिईन् ।
त्यस्तै केयर सिटी अस्पताल नेपालगञ्जका बाल रोग विशेषज्ञ विष्णु कुमार थापाका अनुसार उपचारका लागि प्रत्येक दिन ७ देखि ८ जना मौसमी रुघाखेकी र भाइरल फ्लु भएका बच्चाहरु आउने गरेका छन् । डा. थापाले मौसमी रुघाखोकी र भाइरल फ्लूबाट जोगिन बालबालिकालाई माक्सको प्रयोग अनिवार्य गर्नु पर्ने, खाना खानुभन्दा राम्री साबुन पानीले हात धुने, भ्याक्सिनको प्रयोग गर्ने बताए । बालबालिकालाई बिरामीबाट जोगाउन विद्यालय बन्दले पनि सहयोग पुग्ने डा. थापाको भनाई छ ।
नेपलागञ्ज कान्ति ओरोग्य अस्पतालका बाल रोग विशेषज्ञ डा. रोमा बोराले दैनिक १५ देखि २० जना बिरामी बच्चाहरु उपचारका लागि आउने गरेको बताईन् । उनका अनुसार धेरै जसो बच्चाहरुमा ज्वरो, रुघाखोकीको समस्या देखिएको छ । खासगरी ३ देखि ८ वर्षसम्मका बच्चाहरु विरामी भएको डा. बोराले बताईन् । संक्रमणबाट बच्नका लागि बच्चाहरुलाई सकेसम्म माक्स लगाईदिने, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने, झोलिलो कुरा खुवाउने, घरभित्रै बच्चालाई राख्ने डा. बेराले सुझाव दिईन् ।
अत्याधिक गर्मी बढेपछि बाँकेका अधिकांश बिद्यालय बन्द भएका छन् । अत्यधिक मात्रामा गर्मी बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका बिद्यालय यही जेठ २१ गते आइतबारदेखी २३ गते मंगलबारसम्मका लागि बन्द गरिएको नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले जनाएका छन् । नेपालगन्ज उपमपा र खजुरा गाउँपालिकाले आफनो क्षेत्रका बिद्यालय बन्द गर्न निर्देशन दिएको नेपालगंन्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले बताए ।
उपसचिव थापाका अनुसार सामुदायिक, मदरसा र संस्थागत बिद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी उक्त तीन दिन विद्यालय बन्द गरिनेछ । ‘नेपालगञ्जमा बढेको अत्यधिक गर्मीले पठन पाठनमा कठिनाई भएको र विद्यार्थीहरु बिरमी पर्न थालेको कुरालाई मध्यनजर गरी यस उपमहानगरपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामुदायिक (मदरसा समेत) तथा संस्थागत बिद्यालयमा आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी विदा गर्न भनेका छौं,’ उनले भने ।
जिल्लाका अन्य स्थानीय तह पनि गर्मी विदा गर्ने तयारीमा रहेका छन् । मौसम विज्ञान विभाग नेपालगञ्ज बाँकेका अनुसार नेपालगञ्जको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको छ । अत्यधिक गर्मीका कारण ज्वरो र झाडापखालाले बालबालिका प्रभावित हुन थालेको चिकित्सकहरुले बताएका छन् ।






