नेपालगञ्ज । नेपालगंन्जमा अत्याधिक गर्मी बढेपछि बिद्यालय बन्द गरिने भएका छन् । अत्यधिक मात्रामा गर्मी बढ्दै गएपछि नेपालगन्ज र खजुराका बिद्यालय यही जेठ २१ गते आइतबारदेखी २३ गते मंगलबारसम्म बन्द गरिने नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले जनाएका छन् । नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफनो क्षेत्रका बिद्यालय बन्द गर्न निर्देशन दिएको नेपालगंन्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले बताए ।
उपसचिव थापाका अनुसार सामुदायिक, मदरसा र संस्थागत बिद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी उक्त तीन दिन विद्यालय बन्द गरिनेछ । ‘नेपालगञ्जमा बढेको अत्यधिक गर्मीले पठन पाठनमा कठिनाई भएको र विद्यार्थीहरु बिरमी पर्न थालेको कुरालाई मध्यनजर गरी यस उपमहानगरपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामुदायिक (मदरसा समेत) तथा संस्थागत बिद्यालयमा आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी विदा गर्न भनेका छौं,’ उनले भने ।
गर्मीलाई मध्यनजर गरीे खजुरा गाउँपालिकाले पनि आफ्नो क्षेत्र भित्रका सबै विद्यालयलाई तीन दिनका लागि बन्द गर्ने निर्देशन दिएको छ । खजुराले यही जेठ १७ गतेदेखी १९ गतेसम्म गर्मी विदा गर्न बिद्यालयलाई निर्देशन दिएको हो । जिल्लाका अन्य स्थानीय तह पनि गर्मी विदा गर्ने तयारीमा रहेका छन् । मौसम विज्ञान विभाग नेपालगञ्ज बाँकेका अनुसार नेपालगञ्जको तापक्रम ४० डिग्रीसम्म पुग्ने गरेको छ । अत्यधिक गर्मीका कारण ज्वरो र झाडापखालाले बालबालिका प्रभावित हुन थालेको चिकित्सकहरुले बताएका छन् ।
भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखेकी र भाइरल फ्लुबाट प्रभावित बच्चाहरु ओपिडीमा दैनिक ५० जना आउने गरेका छन् । दिनमा २ देखि ३ जना बिरामी बच्चाहरु भर्ना हुने गरेको बालरोग विशेषज्ञ डा. प्रतिमाले बताईन् । उनले विशेष गरेर बच्चाहरुमा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बताईन् । उनले यो मौसमी रुघाखोकी र भाइरल फ्लूबाट जोगिन बालबालिकालाई माक्सको प्रयोग अनिवार्य गर्नु पर्ने, खाना खानुभन्दा अघि राम्री साबुन पानीले हात धोएर मात्र खाना खान सुझाव दिईन् ।
मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकाहरुलाई निको हुन सामान्यता ४ देखि ५ दिन लाग्ने डा. प्रतिमाको भनाई छ । अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नै बस्ने, धेरै हिंड्डुल नगर्ने सुझाब दिईन् ।
त्यस्तै केयर सिटी अस्पताल नेपालगञ्जका बाल रोग विशेषज्ञ विष्णु कुमार थापाका अनुसार उपचारका लागि प्रत्येक दिन ७ देखि ८ जना मौसमी रुघाखेकी र भाइरल फ्लु भएका बच्चाहरु आउने गरेका छन् । डा. थापाले मौसमी रुघाखोकी र भाइरल फ्लूबाट जोगिन बालबालिकालाई माक्सको प्रयोग अनिवार्य गर्नु पर्ने, खाना खानुभन्दा राम्री साबुन पानीले हात धुने, भ्याक्सिनको प्रयोग गर्ने बताए । बालबालिकालाई बिरामीबाट जोगाउन विद्यालय बन्दले पनि सहयोग पुग्ने डा. थापाको भनाई छ ।






