बाँके । लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनले शनिबार आफ्नो ३२ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा युनियन बाँके शाखाले नेपालगन्जमा रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जमा आयोजित उक्त कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए ।
कार्यक्रममा युनियन बाँकेले प्रकाशन गरेको २०८० सालको भित्तपात्रो पनि विमोचन गरिएको थियो । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर प्रमुख विष्ट, युनियनका अग्रज एवम नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी र महासचिव नविन गिरी, पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष झलक गैरे लगायतले संयुक्त रुपमा पात्रो विमोचन गरेका थिए ।
युनियन बाँकेले गतवर्ष पनि पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याएर स्थापना दिवसकै दिन विमोचन गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले रक्तदान जस्तो पवित्र मानवीय काम गरेकोमा युनियन बाँकेको प्रशंसा गरेका थिए । ‘अहिले रगतको अभाव भइरहेको कुरा सुनिन्छ, यस्तो बेलामा प्रेस युनियनले रक्तदान गरेर राम्रो काम गरेको छ,’ उनले भने ।
युनियन बाँकेका अध्यक्ष ओलीले युनियनको ३२ औं स्थापना दिवसको अवसरमा रक्तदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम राखिएको बताए । ‘रक्तदान गर्दा धेरै मानिसको ज्यान बच्ने भएकाले यो कार्यक्रम हाम्रो प्राथमिकतामा परेको हो, गतवर्ष पनि हामीले यस्तै खालको कार्यक्रम रक्तसञ्चार केन्द्रमा गरेका थियौं,’ उहाँले भन्नुभयो । रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष ओलीले प्रयट्याए ।
कार्यक्रममा युनियन बाँकेका अध्यक्ष ओली, सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक चन्द, काँग्रेस बाँकेका कार्यसमिति सदस्य अमृतकुमार आचार्य, युनियनका उपाध्यक्ष समिरमान श्रेष्ठ, कार्यसमिति सदस्य कमल खत्री, पत्रकारहरु बिक्रम बुढाक्षेत्री, मार्सलराज सन्ज्याल, अच्युत गौतम, सशस्त्र प्रहरीका सिनियर तथा जुनियर अधिकृत र जवानहरु, अन्य सञ्चारकर्मी, सर्बसाधारण गरी कुल २७ जनाले रक्तदान गरेका छन् ।
रेडक्रस रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव भइरहेको अवस्थामा प्रेस युनियनको रक्तदानले केही राहत मिलेको बताउनुभयो । ‘अचेल रक्तदान सम्बन्धी कार्यक्रमहरु त्यति भइरहेका छैनन्, अस्पतालमा बिरामीको चाप धेरै छ, यसले गर्दा रगतको अभाव भइरहेको छ, यस्तो अवस्थामा युनियनले गरेको रक्तदानले बिरामीलाई राहत मिलेको छ,’ उनले भने ।






