काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्तिमार्फत बोलेकै भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु राज्यको मनलाग्दी कार्य भएको र यसले कानुनी शासनको खिल्ली उडाएको बताएका छन् ।
राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर पूर्वाग्रह र स्वेच्छाचारिता भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकलाई राज्यले खोस्न नमिल्ने भन्दै पक्राउको निन्दा तथा भत्सर्ना गरिएको छ । ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरङ्कुश र सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको छ’, विज्ञप्तिमा भनिएको छ ।
केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो । राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका छन् । उता नेकपाको प्रचण्ड नेपाल निकट राष्ट्रिय युवा संघ नेपालले नेतृ रामकुमारी झाँक्रीको विनासर्त रिहाइ नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् । ‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश काम चलाउ सरकारको हतास मानसिकताको उपज हो । झाँक्रीलाई विनासर्त तत्काल रिहाइ नगरे राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा विरोधको आँधी वेहरी सिर्जना गर्ने चेतावनी समेत दिन चाहान्छौ’, युवासंघले विज्ञप्तिमार्फत भनेको छ । साथै उक्त आन्दोलनबाट हुने सवै क्षतिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने युवासंघले जनाएको छ ।






