काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको सुनाउँदै सभा तथा जनता कसको पक्षमा बढि छ ? भन्ने कुरा हेर्न ओलीलाई सुझाएका छन् ।
काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीलाई सिंहदरबार र बालुवाटार घेर्न अर्को आन्दोलन हुने पनि चेतावनी दिएका छन् । यसै क्रममा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेका छन् ।
उनले भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड(नेपाल समूहको विरोध सभामा बोल्दै आफ्नो समूहमा ठुलो संख्यामा नेता कार्यकर्ता फर्कने क्रम रहेको दाबी गरेका हुन् । ‘हामी कहाँ फर्कनेको लामो लिष्ट छ,’ प्रचण्डले भने,‘उहाँले नै बनाएका दुईजना मन्त्री फर्कन मसँग वार्ता गरिरहेका छन् ।’
प्रधानमन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादल असन्तुष्ट भइरहेको विषय बाहिर आइरहँदा प्रचण्डको पछिल्लो भनाई आएको हो । ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि ओलीसँग असन्तुष्ट रहेको बुझिएको छ । दुवैजना विगतमा प्रचण्ड समूहका थिए ।
केहि दिन अगाडी देखि प्रधानमन्त्री केपी शर्मा ओलीसंग गृहमन्त्री रामवहादुर थापा बादल र उर्जामन्त्री टोपवहादुर रायमाझीको खटपट भएको समाचार सार्वजनिक भएसंगै पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारका दुई मन्त्री आफ्नो समुहमा फर्कन वार्तामा रहेको खुलासा गरेका हुन् । प्रचण्डले मन्त्रीको नाम सार्वजनिक नगरेपनि वादल र टोपवहादुर वार्तामा रहेको अनुमान गरिएको छ ।
आफैले बनाएका मन्त्रीहरुले समेत साथ छोड्ने भएकाले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने उनको भनाई छ । प्रधानमन्त्री ओलीको अहिले धर्म कर्ममा झुकाव भएकाले राजिनामा दिएर पशुपतितिर जान आग्रह गरे । आफुहरुले भने नेपाली जनतालाई नै भगवान मानेका कारण जनताकै शरणमा पुगेको बताए ।






