बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा मृगौलाको प्रारम्भिक जाँच शिविर सञ्चालन गरिएको छ । बैजनाथ गाउँपालिकाको आयोजनामा सोमबारदेखि उक्त शिविर सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाहीका अनुसार उक्त पालिकाको वडा नम्बर २ मा १ सय हालसम्म ४५ जना र वडा नम्बर ४ मा १ सय ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
४० वर्ष माथीका नागरिकको मृगौलाको अवस्थाबारे बुझ्न मृगौलाको जाँच गरी समयमै रोग पत्ता लगाई रोग निदान तथा उपचारमा सहज हुने उद्येश्यले यो कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख शाहीले बताए । उक्त क्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले स्वास्थ्यसँग सम्बन्धित यस्ता जाँचहरु नियमित रुपमा सबै वडाहरुमा गर्न आवश्यक रहेको बताए ।
उनले भनिन्,‘स्वास्थ्यसँग सम्बन्धित सबै खाले जाँचलाई प्रत्येक वडाहरुमा गर्न आवश्यक छ । यसो हुुँदा पालिकामा कति व्यक्ति रोगी र निरोगी छन् भन्ने कुराको सहजै तथ्यांक राख्न सकिन्छ र पालिकाप्रनि जनताको विश्वसनियता पनि कायम नै रहन्छ ।’ प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जनताको स्वास्थ्यप्रति पालिका सजग रहेको बताउँदै रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु उत्तम भएको बताए ।
८ वटा वडा रहेको उक्त पालिकाको प्रत्येक वडामा २ दिन शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख शाहीले जानकारी दिए । उनका अनुसार आज वडा नं. ६ मा शिविर सञ्चालन भई रहेको छ । शिविरको गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले शुभारम्भ गरेकी थिईन् ।

smart






