काठमाण्डौ । सर्वोच्च अदालतमा बुधवार प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट १५ अधिवक्ताले बहस गर्दै विघटनको अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गरेका छन् ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता माधव बाँस्कोटालगायत अधिवक्ताले संवैधानिक व्यवस्थाअनुसार नै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको भन्दै पुनर्स्थापना हुन नसक्ने बताए । वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्री ओलीले विघटन गर्नु उचित र संविधानसम्मत भएको दाबी गरे ।
उहाँले यसअघिका संसद्को बहुमत प्रधानमन्त्रीले संसद् विघटन गरेको नजिर रहेकाले वर्तमान प्रधानमन्त्री ओलीले समेत त्यही नजिरको आधारमा विघटन गराएकाले सदर गर्नुपर्ने धारणा राख्नुभयो ।
उनले संविधानको धारा ७६ (१) को प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्न प्रतिबन्ध नलगाएको उल्लेख गर्दै प्रधानमन्त्रीले धारा ७५ को कार्यकारिणी अधिकारका आधारमा धारा ७६ (७) प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्न सक्ने दाबी प्रस्तुत गरे ।
प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि प्रधानमन्त्री ओलीका पक्षबाट बहस गर्ने अर्का वरिष्ठ अधिवक्ता न्यौपानेले २०४७ सालको संविधानमा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई मात्रै दिएको र अहिलेको वर्तमान संविधान संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्री तथा मन्त्रिपरषद्लाई दिएको भन्दै उहाँले रिट निवेदनको मागअनुसार आदेश जारी हुन नहुने बताए ।
उनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय ठिक भएको स्पष्ट गर्दै अविश्वासको प्रस्ताव दर्ता ढिलो भएकाले प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने जिकिर गर्दै भने,‘अविश्वासको प्रस्ताव अघिल्लो दिन नै दर्ता भएको भए पुनर्स्थापना गर्न सक्ने अवस्था थियो’, उहाँले भन्नुभयो, ‘तर प्रतिनिधि सभा विघटनपछि मात्र अविश्वासको प्रस्ताव दर्ता भयो । त्यसैले पार्टी पनि नफुटेको अवस्थामा विघटन जायज हो ।’
अर्का वरिष्ठ अधिवक्ता बाँस्कोटाले संविधानमा विघटनसम्बन्धी व्यवस्था भएको भन्दै प्रतिनिधि सभा विघटन संविधानसम्मत भएको बताए । उनले पाँच वर्षभन्दा पहिले प्रतिनिधि सभा विघटन नै हुन नपाउने व्यवस्था संविधानमा उल्लेख नगरिएको स्पष्ट पारे । उनले देश चुनावतर्फ उन्मुख भएको भन्दै यस्तो भने, ‘संसदीय व्यवस्थामा सरकारले चुनाव गर्छ । चुनाव हुनै सक्दैन भनेर रोक्न सकिँदैन । अदालतले पुनर्स्थापना गरे पनि सरकार स्थिर हुँदैन ।’
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन भएकोे निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाइ विघटित प्रतिनिधि सभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीकोतर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा विषय केन्द्रित बहस सुरु भएको थियो ।
अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । बिहीबार अर्थात आजपनि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुनेछ ।






