बाँके । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०÷०८१ देखि सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा गरि दिने भएको छ । कोहलपुर नगरपालिकाले मंगलबार वडा नं. १५ मा आयोजना गरेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रममा नगरपालिकाका उप प्रमुख संगिता सुवेदीले बंशाणुगत यो रोगका बिरामीहरुको नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रतिबद्धता जनाउनु भएको हो ।
‘आगामी आर्थिक वर्षदेखि सिकलसेल तथा थालेसेमियाका रोगीको निःशुल्क स्वास्थ्य बीमा नगरपालिकाले गर्छ उप प्रमुख सुवेदीले भन्नुभया,‘उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने सवालमा नगरपालिका प्रतिबद्ध छ ।’ उहाँले स्वास्थ्य कोहलपुर नगरपालिकाको पहिलो प्राथमिकता रहेको पनि उल्लेख गर्नुभयो ।
नेपाल सरकारले अहिले सिकलसेलका रोगीलाई उपचार खर्च वाफत एकलाख रुपैयाँ दिने गरेको छ । जनस्वास्थ्य समस्याकै रुपमा रहेको थालेसेमियाका बिरामीहरुलाई भने राज्यले उपचार खर्च दिने गरेको छैन । सिकलसेल र थालेसेमियाका बिरामीहरुले बाँचुन्जेल उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । सिकलसेलका बिरामीलाई सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँ रकम समेत अपुग हुने गरेको छ ।
कोहलपुर नगरपालिकामा हालसम्म ११ हजार बढीको सिकलसेल तथा थालेसेमिया परीक्षण गर्दा सिकलसेलका ९२ जना रोगी, एक हजार बढी बाहक फेला परेका छन् । त्यसैगरी एक सय ५० जना थालेसेमियाका बाहक फेला परेका छन् । कोहलपुर नगरपालिकाले सिकलसेल र थालेसेमियाका बिरामीलाई निःशुल्क स्वास्थ्य बीमा गरेर उपचारको पहुँचमा ल्याउने प्रयास लक्षित समुदायका लागि निकै उपयोगी भएको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा. राजन पाण्डेले बताउनुभयो ।
थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको सिकलसेल तथा थालेसेमियाका रोगीलाई स्वास्थ्य बीमामा समेट्न डा.पाण्डेले नीतिगत पहलको परैवी गर्दै आउनुभएको छ । कोहलपुर नगरपालिकाले सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयन गरे पहिलो पालिका हुनेछ ।






