कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । कास्कीको लेखनाथमा आज सोमबार आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौती बन्दै गएको र यस्लाई रोक्न गम्भिर बन्नु पर्नेमा बताएका हुन् ।
नेपालका शिक्षिक युवा वर्गहरु पछिल्लो समयमा विदेश पलायन हुने क्रम बढ्दै गईरहेको बताउँदै नेकपा एमाले अध्यक्ष समेत रहेका प्रचण्डले यो क्रमलाई रोक्न सम्बद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताए । उनले भने,‘विश्व बजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईँहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दुरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत देशकै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु । विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्त्वपूर्ण अभिभारा तपाईँहरूको काँधमा पनि छ ।’
प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवम् समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताए । ‘सरकारको यस प्रयासमा यहाँहरूलगायत सम्पूर्ण शैक्षिक जगतको महत्त्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु’, उनले भने । प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने बताए ।






