नेपालगन्ज । हात्तीपाइले रोगको उच्च जोखिममा बाँके रहेको बाँकेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । शहरी क्षेत्रमै हात्तीपाईले बिरुद्धको औषधी सेवन गराउन चुनौती भएको कारण बताउँदै बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका हुन् । बुधबार नेपालगन्जमा पत्रकारसंग गरिएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले सरकारले हात्तीपाईले रोगलाई २०२० सम्म निवारण गर्ने उद्देश्य लिएतापनि अभियानले सफलता पाउन नसकेको बताईन् ।
अभियान संचालन गरिएको छैठौ बर्षमा रोगलाई निवारण गर्ने लक्ष्य लिएतापनि अभियानले तेह्रौ बर्षमा प्रवेश गर्दा समेत बाँकेमा हात्तीपाईले रोगलाई निवारण गर्नलाई चुनौती देखिएको उनले बताईन् । अभियानमा दम, मुटु जस्ता दिर्घरोगी, गर्भवती, एक हप्तासम्मका सुत्केरी आमाहरु, छारेरोगका विरामी, दुईवर्ष नपुगेका बालबालिकाले औषधि सेवन गर्न नहुने भएकोले पनि अभियान एकै पटकमा सफल नहुने उनको भनाई थियो ।
ग्रामीण क्षेत्रका मानिस भन्दा सहरी क्षेत्रका मानिसहरुले हात्तीपाईले बिरुद्धको औषधी सेवन गर्न आनाकानी गर्ने र समाजमा भ्रम फैल्याउने भएकोले अभियानले सफलता नपाएको स्वास्थ्य कार्यालय प्रमुख पौडेलले बताईन् । यसपटक जिल्लामा ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तिपाइले रोग फोकलपर्सन दुर्गा गौतमले जानकारी दिईन् ।
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले लक्षित समूहका सबै व्यक्तिहरुलाई औषधी सेवन गर्न उनको आग्रह छ । नेपालगन्ज उपमहानगरपालिकामा एक लाख ७० हजार ५९८ जना, कोहलपुर नगरपालिकामा एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जनालाई औषधी खुवाउने लक्ष्य छ । त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको फोकलपर्सन गौतमले बताईन् ।
ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रका मानिसमा चेतनाको कमि भएको र पछिल्ला दिनहरुमा मिडीयाहरुले पनि अभियानलाई त्यती प्राथमिकता दिएर समाचार कभरेज नगरिदिएकोले अभियान सफल पार्न कठिनाई भएको उनले जानकारी गराईन् । उनले सहरी क्षेत्रमा हात्तीपाईले बिरुद्धको औषधी सेवन गराउन घर घरमा पुग्दा लेखेकै व्यक्तिहरुले घरको चुकुन लगाउने, कुकुर छोरदिन जस्ता कार्य गर्ने भएकोले अभियानलाई सफल पार्न कठिनाई भएको भन्दै मिडीयाले अभियानलाई प्राथमिकता दिएर समाचार कभरेज गरिदिन आग्रह समेत गरिन् ।
हात्तीपाईले बिरुद्धको अभियानमा बाँकेको जानकी गाउपालिकामा शुन्य प्रतिशत, खजुरा गाउँपालिकामा ७ प्रतिशत, नरैनापुरमा ६४ प्रतिशत, डुडुवा गाउपालिकामा ७८ प्रतिशत, बैजनाथ गाउपालिकामा ७३ प्रतिशत, राप्तीसोनारी गाउँपालिकामा ७३ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकामा ५० प्रतिशत मिडीयाले समाचार कभरेज गरेर आफ्नो भुमिका निर्वाह गरेको स्वास्थ्य कार्यालय बाँकेको हात्तिपाईले बिरुद्धको औषधी सेवन अभियानका इन्चार्ज दुर्गा गौतमले बताईन् ।
बिभिनन क्षेत्रबाट नेपालगन्जलाई कर्मथलो बनाएर नेपालगन्ज उपमहानगरपालिकामा बसोबास गर्नेहरु औषधिका बारेमा विभिन्न भ्रम पालेर बसेका कारण औषधी खुवाउने अभियान प्रभावित बन्दै गएको बताउदै सहरी क्षेत्रमा नै सबै भन्दा न्युन ५० प्रतिशत समाचार मात्रै कभरेज भएको इन्चार्ज गौतमले जानकारी गराईन् । साथै उनले बाँकेका सञ्चारमाध्यमहरु र सञ्चारकर्मीहरुले अभियान सफल पार्नका लागि आवश्यक भूमिका खेल्न आग्रह समेत गरिन् ।






