काठमाण्डौ । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनस् नागरिकता लिनुपर्ने फैसला गरेसँगै गरेसँगै रवि लामिछानेले उप–प्रधान एवं गृहमन्त्रीको पद गुमाए । माघ १३ बाट गृह मन्त्रालय मन्त्री विहीन छ । मन्त्री नहुँदा पनि मन्त्रालयको महत्वपुर्ण महाशाखा, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा व्यापक सरुवा र बढुवा गरिएको छ ।
मन्त्रालयको महत्वपुर्ण मानिने सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी सह–सचिव जितेन्द्र बस्नेतलाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट गृहमा सरुवा भएका बस्नेलाई गृह प्रवक्ता तोकिएको छ । गृह प्रवक्ताबाट फणिन्द्रमणी पोखरेललाई हटाइएको छ । सह–सचिव पोखरेललाई आन्तरिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
पोखरेल नेपाली कांग्रेस निकट कर्मचारीको रुपमा चिनिन्छन् । उप–सचिव दिलकुमार तामाङलाई सूचना अधिकारीको जिम्मेवारी दिइएको छ । तामाङ ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा सरुवा भएका हुन् । प्रशासन महाशाखामा सह–सचिव केदारनाथ शर्मालाई ल्याइएको छ । शर्मा अर्थ मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट गृहमा सरुवा भएका हुन् ।
काठमाण्डौको प्रमुख जिल्ला अधिकारी समेत भैसकेका शर्मासँग यसअघि लामो सयम गृह मन्त्रालयमा बसेर काम गरेको अनुभव छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उप–सचिव कृष्णप्रसाद शर्मालाई मन्त्रालयमा सरुवा गरिएको छ । शर्मालाई निजामती कर्मचारी प्रशासन शाखा हेर्नेगरी जिम्मेवारी तोकिएको छ ।
निजामती कर्मचारी प्रशासन शाखामा कार्यरत अधिकृत भाष्कर दाहाललाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरिएको छ । आन्तरिक व्यवस्थापन महाशाखामा सवारी हेर्नेगरी उप सचिव सुरेश सुनारलाई सरुवा गरिएको छ । योजना अनुगमन तथा मूल्यांकन शाखाबाट सरुवा गरेर उप–सचिव अर्जुन पौडेललाई सीमा तथा अध्यागमन शाखाको जिम्मेवारी दिइएको छ ।
नेपाल प्रहरीमा पनि ठूलो संख्यामा प्रहरी अधिकृतहरुको सरुवा गरिएको छ । माघ १९ मा आईजीपी धिरज प्रताप सिंहले ५३ जना प्रहरी उपरीक्षक ९एसपी० को सरुवा गरे । गृह मन्त्रालयबाट रवि लामिछानेको बहिर्गमन सँगै ११६ जना डिएसपीहरुको सरुवा गरिएको छ । ११६ जना डिएसपीहरुको सरुवा गरेकै दिन आईजीपी सिंहले १३ जना डिएसपीहरुको काज सरुवा पनि गरेका छन् ।
सशस्त्र प्रहरी बलमा ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयम बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ ।
श्रेष्ठसहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले जानकारी दिए । रातोपाटी ।






