बाँके, कोहलपुर । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य सेवा निर्देशक भरत बहादुर कुँवरले मिडियाकर्मी मार्फत उपलब्ध स्वास्थ्य सेवाबारे आम नागरिकलाई सत्य तथ्य सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन् । स्वास्थ निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना शुक्रबार कोहलपुरमा आयोजित मिडियाकर्मी र स्वास्थकर्मिहरुका लागि स्वास्थ प्रवर्द्धन सेवा सम्बन्धि पैरवी कार्यक्रममा उनले यस्तो आग्रह गरेका छन् ।
निर्देशक कुँवरले डक्टरको भन्दा पनि पत्रकारले लेखेका कुरामा आम जनताले झट्ट बिश्वास गर्ने भएको हुनाले समाचार सम्प्रेषण गर्दा पत्रकार र मिडिया हाउस निकै नै सजक हुन आवश्यक रहेको औंल्याएका थिए । उनले सर्वसाधारण माझ भ्रमित हुने र स्वास्थ सङ्ग प्रत्यक्ष जोडिएको कुरा हावादारी भरमा नलेखी सही सत्यतथ्य कुरा सर्वसाधारण माझ पुर्याउन सञ्चारकर्मीलाई आग्रह समेत गरेका थिए ।
कार्यक्रममा कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले कार्यक्रमको उद्येश्यका बारेमा जानकारी दिदैं हालसम्म स्वास्थ्य शाखामार्फत भए गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । उनले कोहलपुरमा रहेका स्वास्थ्य संस्थाहरुको संख्या र अवस्था, खोप, पोषण, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रम, दादुरा–रुबेलाको वर्तमान अवस्था लगायतका बारेमा गरिएको चेकजाँच, विद्यार्थी लक्षित दादुरा–रुवेला खोप, औषधी व्यवस्थापन लगायतका कामहरु शाखा मार्फत भैरहेको बताए ।
कोहलपुर नगरपालिका स्वास्थ शाखाबाट भएका स्वास्थ सम्बन्धिका सेवा र सचेतनाका कार्यक्रम बारे नगर स्वास्थ प्रमुख अनिल सेन ठकुरिले प्रष्ट पारेका थिए। मिडियाकर्मी र स्वास्थकर्मिहरु बिचको सम्बन्धलाई नजिक ल्याउन जरुरी रहेको भन्दै २०७४ पछि २०७९ मा दोस्रो पटक मिडियाकर्मी र स्वस्थ्यकर्मीलाई संगै राखेर कार्यक्रम गरिएको उनले बताएका छन् ।
कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक बिकास संयोजक इस्वरी प्रसाद बिकले सञ्चारकर्मीले नगर भित्र भएका अन्य गतिविधि सङ्गै स्वास्थ क्षेत्रको गतिविधिहरु जस्ताको त्यस्तै आम समुदाय माझ पुर्याइदिनु पर्ने र मिडियकर्मी र स्वास्थकर्मिको सम्बन्ध नङ र मासु जस्तै रहनुपर्ने बताएका छन् । सहभागी सबैको राम्रो नराम्रो गुनासा सुनिसकेपछी उनले कार्यपालिकाको बैठक बसि सबै समस्याको समाधान गर्ने जानकारी समेत गराएका छन् ।
उनले मानव जिवनमा स्वास्थ्य पहिलो प्राथमिकतामा पर्ने भएकाले सबै सरोकारवाला निकाय संवेदनशील हुनुपर्ने बताएका छन् । कार्यक्रममा सहभागि पत्रकारहरुले नगर स्वास्थ्यले पत्रकारिता क्षेत्रलाई समेट्न नसकेको गुनासो गरेका थिए । कोहलपुरमा आवश्यकता अनुसारको जनशक्ति कम हुनु, दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र कर्मचारी अभाव, उपकरणको अभाव, औषधिको अभाव, आयुर्वेदिक औषधालयका समस्या तथा एम्बुलेन्स समस्या लगायतका कुरा स्वास्थ्य क्षेत्रले भोगीरहेको बारेमा जिज्ञासा राखेका थिए ।
सञ्चारकर्मीहरुले स्वास्थ्य शाखा र संचारमाध्यमको सम्बन्ध समधुर हुनुपर्नेमा जोड दिदै कोहलपुर नगर स्वास्थ्य शाखा संचार मैत्री हुन सुझाव समेत दिएका छन् । यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुले जस्तो सुकै अप्ठ्यारोहरुमा पनि आफूले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको बताए ।






