रुपनी जि.एम, बर्दिया । बर्दियाको राजापुरदेखि सोनपुर हुँदै झण्डै ८ किलोमीटर उत्तरमा पर्छ सोनाहा जातीहरु बस्ने मुर्गहवा गाउँ । उनीहरुको गाउँ र कर्णाली नदीको सम्बन्ध सुन र बालुवासंग जोडिएको छ । वर्षाको समयमा कर्णाली नदीमा उर्लिएर आउने बाढीले सुन ल्याउँछ भन्दै नदीको बालुवाबाट सुन चालेर दुई छाक खानाको जोहो गर्दैं आईरहेका छन् मुर्गहवाका सोनाहरु जातीहरु ।
तिनै सोनाहालाई राज्यले अहिले सम्म नेपालको नागरिकको रुपमा स्वीकार गरेको छैन । यस अर्थमा उनीहरुको कुनै प्रकारको पहिचान छैन । बालुवा चालेर सुन निकाल्ने भएको हुनाले उनीहरु सानोहा जातीको नामले चिनिन्छन् । तर राज्यले सुचिकृत नगरिदिंदा उनीहरुको पहिचान भने गुमनाम नै बनेको छ ।
मुर्गहवा गाउँमा सोनाहाका जम्मा ९५ जनसंख्या रहेको छ । राजापुर नगरपालिकाको दौलतपुर, मनपरीपुर, चनौरा, मुर्गहवा, हिमालीपुर र प्रेमनगर गरी ६ वटा गाउँमा सोनाहा जातिको बसोनबास रहेको छ । राजापुसंगै जोडिएको गेरुवा गाउँपालिकामा पनि सोनाहा जातिहरु बस्दै आई रहेका छन् । गेरुवाको वडा नं. ६ को सैजनागाउँ र वडा नं. ३ मा संकट्टिगाउँ, त्यसैगरी वडा नं. २ मा राजीपुर र कन्यापुर, सर्खोल, वडा नं. ४ खोल्टीबजारमा सोनाहाहरुको जनसंख्या फाट्टफुट्ट भेट्न सकिन्छ ।
अघिल्लो २ वर्षको तथ्यांक अनुसार बर्दियामा ८ सय र कैलाली, कञ्चनपुर गरी ४ सयको हाराहरीमा गरी सोनाहाको जनसंख्या जम्मा १२ सय रहेको छ । लोपउन्मुख आदिबासी जनजातिमा आफुहरुलाई सूचिकृत गरिनुु पर्ने भन्दै पहिचानको लडाई लड्दै आएका सोनाहा जातिको मागलाई राज्यले अहिलेसम्म बेवास्ता गरी रहेको छ ।
आफुहरुले माग गरेको समूदायमा राज्यले सूूचिकृत नगरिदिंदा यो जातिको पुस्तौं पुस्ता राज्यबाट प्राप्त हुने सबै अधिकार पाउनबाट बञ्चित हुँदै आई रहेका छन् । लामो समयदेखि राज्यसंगको पहिचानको लडाईले कुन रुप लिएको छ ? आन्दोनको स्वरुप कस्तो बन्दैछ र कहाँसम्म पुगेको छ लगाएतको विषयमा सोनाहा विकास समाजका अध्यक्ष र सोनाहा जातीको अगुवा शान्ति सोनाहासंग गरिएको कुराकानीको केही अंश………….
सोनाहा जातीको पुस्तौं पुस्ता राज्यसंग पहिचानको लडाई लड्दै आईरहेको छ । तपाईँहरुको लडाईले सार्थक पाएको छ या छैन ?
पाएको छ भन्ने हो हैन ? हामी नै अलमलिएका छौं । किनभने हाम्रो माग अनुसार हामीलाई राज्यले लोपउन्मुख आदिबासी जनजातीको समूहमा सूचिकृत गर्नु पर्ने हो त्यो अहिले सम्म गरेको छैन । यसका लागि हामीले कयौं पटक आन्दोलन समेत गर्यौं । काठमाण्डौ समेत गएर प्रधानमन्त्रीहरुलाई आफ्ना मागहरुका बारेमा ज्ञापन पत्र समेत बुझायौं । जवाफमा हामीले आश्वासन पाउँथ्यौं र फर्कन्थ्यौं ।
स्थानिय सरकार भएदेखि हाम्रो कुरा र मागलाई यहाँका स्थानिय निकायले भने सुनेको छ र त्यो हाम्रालागि पर्याप्त भने छैन । हामीलाई यहाँको स्थानिय सरकारले सूचिकृत गरेतापनि हामी यत्ति कुरामा सन्तुष्ट छैनौं । किनभने हामीलाई केन्द्रिय सरकारले नै सूचिकृत गर्नुपर्छ भन्ने हामी सोनाहा जातीको माग हो । र राज्यले अहिलेसम्म हाम्रो मागलाई सम्बोधन गर्न सकिरहेको छैन ।
उसो भए अब तपाईहरुको आन्दोलनको स्वरुप कस्तो हुन्छ त ?
हामी अहिलेपनि आन्दोलन मै छौं । हामी यो देशको नागरिक हौं र हामीलाई हाम्रो पहिचान राज्यले दिनै पर्छ त्यसका लागि हाम्रो माग राज्यले सम्बोधन नगरेसम्म आन्दोलन रोकिने छैन र रोकिएको पनि छैन । आन्दोलनको स्वरुप फरक भएको मात्र हो । तर राज्यलाई झकझक्याउनका लागि हाम्रो आवाजहरु कहिले विभिन्न संघसंस्था मार्फत त कहिले मिडिया मार्फत उजागर गरि नै रहेका छौं ।
हातमा लौरो लिएर, मसाल जुलुसका साथ जनमत बटुलेर सिंहदबार अगाडी धर्ना दिंदै चिच्याउनु मात्रै आन्दोलन हो भन्ने कसैले नबुझ्दा हुन्छ । हामी तबसम्म रोकिने छौनौं जबसम्म हामीलाई यो राज्यले लोपउन्मुख आदिबासी जनजातीमा सूचिकृत गर्नेछैन । यो अन्तरवार्ता पनि राज्यलाई हाम्रो तर्फबाट चाँडो भन्दा चाँडो हाम्रा मागहरुलाई सम्बोधन गरिदियोस् भन्ने एकप्रकारको खबरदारी नै हो ।
राज्यले सूचिकृत नगरिदिंदा सोनाहा जातीले भोग्नु परेका के कस्ता समस्याहरु छन् ?
समस्या त एउटा नागरिकले पाउनु पर्ने आधारभूत सुबिधाबाटै बञ्चित छ सोनाहा जाती । यो भन्दा ठूलो समस्या अरु के हुन सक्छ ? गास, बास, कपाससंगै शिक्षा, स्वास्थ्य, रोजगार सबै कुरा पाउनबाट हाम्रा बालबालिका र युवा बञ्चित छन् । जेष्ठ नागरिकले बृद्धभत्ता पाएका छैनन् । युवामा रोजगार नपाउँदाको वितृष्णा बढ्दै छ । हाम्रा पुस्ता र उनीहरुको सोंच पनि परिवर्तन भईरहेको छ तर भएर के गर्ने ?
राज्यले सूचिकृत नगरिदिंदा सोनाहाका युवाहरुमा बल बुद्धि र क्षमता हुँदाहुँदै पनि अवसर नभएकै कारण अहिले सुन चाल्ने पेशाप्रति नै उनीहरु असन्तुष्ट हुँदै गई रहेका छन् । युवा असन्तुष्ट हुनु भनेको हाम्रो पेशा नै भविष्यमा धरासायी बन्नु हो । यदि यही शिलशिला जारी रह्यो भने यस्को जवाफदेही को हुने ? एउटा मात्रै समस्या भए पो समाधानको उपाय निकाल्न सकिन्छ । राज्यले हामी सोनाहालाई सूचिकृत नगरिदिंदा हाम्रो त जिन्दगी नै समस्याको भूमरीमा रुमल्एिको छ । यसबाट बाहीर राज्यले हैन र निकाल्नु पर्ने ?
स्थानिय सरकारले सोनाहा जातिलाई सूचिकृत गरेको छ भन्नु भयो । सूचिकृत भैसकेपछि के कस्ता सेवा सुबिधाहरु सोनाहालाई दिईएको छ ?
स्थानिय सरकारबाट सेवा सुविधाका नाममा हामीले पाएको भनेको गत वर्ष ५ लाख मात्र हो । त्योपनि पिछडा जातिको नाममा । त्यसमा पनि उनीहरुको ईच्छाको कुरा हुन्छ । दिनै पर्छ भनेर बजेटमा छुट्याईएको हुँदैन । हामीले पाएको त्यो पाँच लाखलाई सोनाहाको संस्कार, भाषा, भेषभूषा संरक्षणका लागि भनेर डकुमेन्ट्री बनेउने सोंचेका थियौं ।
तर त्यसमा पनि उनीहरुले डकुमेन्ट्रीका लागि यो रकम धेरै हुन्छ यति लाग्दैन भन्दै ढाई लाख डकुमेन्ट्रिका लागि र ढाई लाख सिप मुलक तालिमका लागि भनेर छुट्याई दिए । त्यसरी छुट्याईएको त्यो बजेट पनि सोनाहालाई नदिएर आफैले खर्च गरे । र हाम्रो जातिको नाममा बनाउने भनेको डकुमेन्ट्रि पनि अहिलेसम्म अधुरो नै रहेको छ । हाम्रो नाममा स्थानिय सरकारले मन लाग्दाको समयमा बजेट छुट्याएता पनि त्यसको भोग चलन हामीले गर्न पाउँदैनौं । अब यस्लाई के सेवा सुविधा पाएको भन्ने ?
राज्यले तापाईँहरुको मागलाई अहिलेसम्म सम्बोधन गरेको छैन, युवामा वितृष्णा जाग्दैछ, यस्तो अवस्थामा अब सोनाहा जातिको सुन चाल्ने पुर्खेउली पेशा नै धराप पर्ने संकेत देखिएको छ, यस्लाई जोगाउन के गर्नुपर्ला ?
तपार्इाँले भन्नु भएको सही हो । हाम्रो पेशा नै सोनाहाको पहिचान हो । हामी हाम्रो पेशालाई कुनैपनि हालतमा छोड्न चाहादैनौं । तर यस्लाई बचाई राख्ने पनि हाम्रो नै दायित्व हो । त्यसैले अब हामीले हाम्रो पेशा संरक्षणका लागि आधुनिकी करणको आवश्यकता महसुस गर्दैछौं ।
जस्तै हामीले अहिलेसम्म पुरानै तरिकाले बनाएको डुंगा प्रयोग गरीरहेका छौं यस्लाई आधुनिक प्रकारको डुंगाको व्यवस्था गर्न आवश्यक छ । त्यसैगरी सुन चाल्ने भाँडा पुरानै छन् त्यसलाई पनि आधुनिक तरिकाको बनाउन सकिन्छ जस्ले गर्दा हाम्रो समयको सदुपयोग हुन सक्छ र काममा पनि सहजता हुन जान्छ ।
यसका साथै नेपालमा बग्ने नदी नाला जहाँ कहीँ पनि हामीले स्तन्त्र भएर माछा मार्ने देखि बालुवा चालेर सुन निकाल्न पाउनु पर्छ । हामीलाई निकुञ्ज र सामूदायिका बनले रोक लगाएको छ । हामी चाहान्छौं नेपाल सरकारले यी रोकावटहरुलाई फुकुवा गरिदियोस् भन्ने हाम्रो माग रहेको छ ।






