रुपनी जि.एम, बर्दिया । बर्दियाको राजापुर, मुर्गहवा गाउँ अनि सुन खोज्ने मानिसको बस्ति । त्यो बस्ति सानो थियो तर एकनासको । सबैको घर बराबरको अनि उस्तै पनि । बस्तिमा बस्नेहरुको वर्ण, रुप, रंग फरक भएतापनि एउटै कुरा समान थियो र त्यो हो खोलाबाट बालुवा चालेर सुन निकाल्ने । सुन खोजेर जीविको पार्जन गर्ने भएकै हुनाले उनीहरु सोनाहा जातीको नामले चिनिन्छन् । लोपउन्मुख आदिबासी जनजातीका नामले चिनिन रुचाउने सोनाहालाई भने राज्यले अहिलेसम्म उनीहरुले ईच्छ्याएको जाती र समूदायमा सूचिकृत गरेको छैन ।
राज्यद्धारा पछाडि पारिएका ती सोनाहा जातीको वर्षौंदेखि एउटै माग रहेको छ र त्यो हो राज्यले आफ्ना जातीलाई आदिबासी जनजाती भित्रको पनि लोपउन्मुख जाती र समूदायमा सुचिकृत गरिदियोस् भन्ने । सूचिकृतको विषयमा सोनाहा र राज्य बीच वर्षौंदेखि पहिचानका विषयलाई लिएर अधिकारको लडाई चलि नै रहेको छ । अधिकारको यो लडाईमा सोनाहाका कति पुस्ता बितेर गए भने कति त अझैं लड्दै पनि छन् । यसै दौडानमा राज्य सञ्चालन गर्ने सरकार कति फेरिए फेरिए सोनाहाका लागि न कुनै सरकार झुकेको छ न त सोनाहा जाती नै अधिकार प्राप्तिको लडाईमा अघि बढ्न नै सकेको छ ।
पहिचानको लडाई लड्ने क्रममा थाक्दै छन् नयाँ पिढीका पाईलाहरु तर आवाज थाकेको छैन । सोनाहाका नाममा डकुमेन्ट्रि बनाउनेहरुको तछाड मछाड नै हुन्छ उनीहरुको बस्ती बस्तीमा । तर त्यसरी बनाईएको डकुमेन्ट्रिले केवल बनाउनेलाई फाईदा पुगेको छ न कि सानोहा जातीलाई भन्न रुचाउँछन् अहिलेका सोनाहा पुस्ता । आशा अनि नैराश्यता, कोक्र अनि शान्ति यीनै र यस्तै भावनाहरु संगाल्दै आज पनि जीवित छन् कर्णालीको तीरमा नदिको सुस्केरा सुन्दै बाँचिरहेका सोनाहहरु ।
वर्षौंदेखि राज्यको उत्पिडनमा पर्दै आएका सोनाहाहरुले यस वर्ष भने केही राहतको सास फेर्न पाएका छन् । भनिन्छ धैर्यको फल मिठो हुन्छ । उनीहरुका लागि पनि यस्तै केही भएको छ । यो वर्ष स्थानिय सरकारले उनीहरुले चाहेको जस्तै लोपउन्मुख आदिबासी जनजातीको सूचिकृतमा सोनाहा जातिलाई राखेको छ । तर उनीहरुका लागि भने यो पर्याप्त होईन । राज्यले सूचिकृत नगरिदिंदा अहिलेपनि स्वास्थ्य, शिक्षा, रोजगार, व्यापार आदि ईत्यादि आधारभूत कुराहरुमा पछाडि नै परिरहेका सोनाहाहरु आफ्नै छिमेकीहरुबाट पनि सधैं हेपाहा व्यवहार खेपी रहन बाध्य छन् ।
बर्दियाको राजापुरबाट केही पश्चिममा पर्ने सोनाहा जातीको मुर्गहवा गाउँ ०६२ सालमा कणार्लीमा आएको बाढीले कटान गरेर बसालेको गाउँ हो । सजिलै माछा मार्न पाउने र शिकार गर्न पाउने आशामा सोनाहा जातीहरु नदीको छेऊछाऊमा बस्ति बसाउन रुचाउँछन् । यी जातका मानिसहरु नदीमा बाढीको भेल उर्लिदा सुन र माछा पाईने आशामा खुशी हुनेगर्छन् । त्यसैले सोनाहाहरु नदीको छेऊछाऊँमा खाली जमिन देख्ना साथ बस्ति बसाउँछन् भन्छन् सोनाहा विकास समाजका अध्यक्ष शान्ति सोनाहा ।
उनका अनुसार सुन खोज्ने पेशाकै कारण सोनाहा जातीका बालबालिकाहरु स्कूल जानबाट बञ्चित हुँदै गई रहेको भन्ने छ । उनी भन्छन्,‘नानीबाबुहरुलाई स्कूल पठाउने समयमा हाम्रा महिलाहरु खोलामा सुन खोजि रहेका हुन्छन् । सोनाहाका बालबालिकाहरुको शैक्षिक अधिकार बञ्चित हुँदै गईरहेको आभाष हुन थालेको छ र यस्को कारण भनेको हाम्रो पेशा हो जस्तो लाग्न थालेको छ ।’ सोनाहा जातीहरुको अगुवा समेत रहेका शान्ति सोनाहा अगाडी भन्छन्,‘समय पहिलाको जस्तो रहेन । त्यसैले हामी चाहान्छौं हाम्रो पेशा पनि सुरक्षित रहोस् र हाम्रा नानीबाबुहरुले पनि शिक्षाको ज्योति पाउनबाट बञ्चित हुन नपरोस् । यसकालागि आधुनिक तरिकाले पेशालाई अगाडी बढाउन सरकारले मद्यत गरोस् भन्ने चाहाना छ ।’
राज्यले आफुहरुलाई सूचीकृत गरिदियोस् भन्दै पहिचानको लडाईमा लड्न लागेको वर्षौं बितेतापनि अहिलेसम्म राज्यले सूचिकृत नगरिदिंदा आफुहरुको पहिचान गुमेको शान्ति सोनाहाले बताए । उनका अनुसार सूचिकृतको पहल अन्तिम चरणसम्म पुगेको छ । तरपनि मन्त्री परिषदले पास नगरेको गुनासो उनले सुनाए । नेपालको अस्थिर राजनीतिले फेरीदैं र बन्दै गरेका विभिन्न प्रधानमन्त्रीहरु समक्ष आफ्नो जातीय पहिचानको ध्यानाकर्षण पत्र पटक पटक बुझाउँदा पनि मागको सुनुवाई हुन नसकेकोमा शान्ति सोनाहा मात्र नभई सोनाहा जातीका युवा पुस्ता नै निराश र थकित बन्दैछन् ।
विभिन्न संघ संस्था र चुनावका बेला घरदैलोमा भोट माग्न आउने नेताहरुको आश्वासनले युवामा देखिन थालेको नैराश्यता र थकित बन्दै गरेको ती मुहारमा आफ्ना भावी सन्तान सम्झिदैं फेरी केही समयका लागि विश्वासको जग बस्न शुरु गर्छ । तर फेरी दिन ढल्दै जान्छ र समयसंगै विगत जसरी नै अवस्था जहाँको त्यही नै टक्क अडिन पुग्छ । यस्तो अवस्थामा पनि मुर्गहवाका सोनाहाहरुले अबको सरकारले आफुहरुको मागलाई सम्बोधन गर्नेमा विश्वस्त छन् ।






