लमजुङ । अविनाश गुरुङ, वर्ष १७ । विज्ञान–प्रविधिमा रुची भएको उनी मध्यनेपाल नगरपालिका–८ डडुवाका हुन् तर अहिले उन मध्यनेपाल भोर्लेटारमा बसोवास गर्दै आई रहेका छन् । बाली विज्ञान विषय लिएर पढिरहेका उनको विद्यालय भने इशानेश्वर माध्यामिक विद्यालय मध्यनेपाल–६ हो । सानै उमेरदेखि विज्ञान, प्रविधिमा रुचि राख्ने अविनाशले अहिले आफैँले ई–स्कटुर (विद्युतीय स्कुटर) बनाएका छन् ।
आफैँले बनाएको स्कुटर चढेर उनी विद्यालय जाने आउने गर्दछन् । उनलाई ई–स्कुटर एक महिना एक महिना लागेको थियो । अविनाशले यो स्कुटर चढेर विद्यालय आउजाउ गर्न थालेको छ महिना पुगिसकेको छ । दिउँसो पढाइमा व्यस्त रहे पनि बिहान–बेलुकीको समय खर्चेर ई–स्कुटर निर्माण गरेको उनले बता । ‘विद्यार्थी मान्छे । पढ्नु त पर्यो नै । दिउँसो पढाइमा व्यस्त भइन्थ्यो । बिहान–बेलुकीको समय खर्चेर एक महिनाको समयमा स्कुटर तयार गरेको हो ।’ उनले भने ।
उनको भनाई अनुसार ई–स्कुटर बनाउन जम्मा ५५ हजार रुपैयाँ खर्च भएको थियो । उनले यस स्कुटरमा २४ भोल्टको दुई सय ५० वाट क्षमताको मोटर प्रयोग गरेका छन् । ब्याट्रीबाट चल्ने यस स्कुटर चार किलोमिटरसम्म गुड्ने उनले बताए । ‘बढी क्षमताको ब्याट्री प्रयोग गरेमा माइलेज पनि बढाउन सकिन्छ’, अविनाशले भने । ८० केजीसम्मको तौल धान्ने क्षमता यस स्कुटरको रहेको उनले बताए ।
ई–स्कटुर नै बनाउने सोच मनमा कसरी पलायो भन्ने प्रश्नमा उनी भन्छन्,‘पछिल्लो समय विश्वमा डिजल, पेट्रोलबाट भन्दा इलेक्ट्रिकबाट चल्ने सवारी साधनको प्रयोग बढ्दो छ । यसका साथै वातवारणीय प्रदूषणलाई पनि कम गर्न सकिने र तुलनात्मकरूपमा धेरै मात्रामा दुई पाङ्ग्रे सवारीको प्रयोग रहेकाले पनि मैले ई–स्कुटर बनाएको हो ।’
त्यसो त उनले यसअघि हाइड्रोलिक डोजर, रोबर्ट, रकेट, स्मार्ट डस्टबिन लगायतका सामग्री बनाइसकेका छन् । आशबहादुर गुरुङ र उरमाया गुरुङका जेठा छोरा अविनाशलाई उहाँको रुचिमा परिवारको पनि सहयोग मिलेको छ । उनका भाई अभिषेक गुरुङ त्यही विद्यालयमा कक्षा ८ मा पढ्छन् । रुचि इन्जिनियरिङतर्फ अनि पढाइ बाली विज्ञान ।
रहर एकातर्फ, पढाइ अर्कोतर्फ भएजस्तो लाग्दैन भन्ने जिज्ञासामा उनले मस्कुराउँदै भने,‘सानैदेखि प्रविधिमा रुचि थियो । कक्षा ९ देखि नै बाली विज्ञान पढियो । यसमा पनि प्रविधि जोडिने भएकाले यसैमा लागियो । पढाइबाट ज्ञान लिने हो । बाली विज्ञानबाट पनि त्यो प्राप्ति हुन्छ । आफ्नो रुचिको काम त गर्न सकिने नै भयो ।’ उजको यस कार्य, प्रयासलाई धेरैले प्रशंसा गर्ने गरेका छन् ।
‘धेरैले राम्रो भन्नुहुन्छ । कतिपयले सहयोग पनि गर्नुहुन्छ । अझै धेरै चिज बनाउने योजना, सोच छ । यसका लागि पालिकाबाट सहयोगको अपेक्षा राख्दछु,’ उनले सुनाए । प्रविधिमा धेरै रुचि रहनुमा उनीभित्र प्रतिभा रहेको इशानेश्वर माविमा भौतिकशास्त्र पढाउँदै आउनुभएका शिक्षक निर्मल अधिकारीले बताए । प्रतिभाको कदर र संरक्षण सबैले गर्नुपर्ने उनको भनाई छ । यो समाचार उज्यालोबाट साभार गरिएको हो ।






