नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रण र व्यवस्थापनका लागि कार्ययोजनासहित प्रभावकारी ढंगले अगाडि बढ्न सरोकारवाला निकायहरुबीच छलफल भएको छ । आईतबार नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा उक्त छलफल भएको थियो ।
भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा २३ वटै वडाका स्वास्थ्य चौकी इन्चार्जहरुलाई अभिमुखीकरण समेत गरिएको छ । दादुरा प्रभावित वडाहरुमा खोपको प्रभावकारी सञ्चालन, नियन्त्रण र व्यवस्थापनसंगै प्रकोपलाई जटिल अवस्थामा पुग्न नदिन सजकता अपनाउने विषयमा गहन छलफल भएको छ ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डा. सर्बेश शर्मा, परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका डा.पासांग राईसहितको टिम, युनिसेफका प्रतिनिधिहरुसंगै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई,
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायत सरोकारवाला निकायका संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति थियो ।
त्यसक्रममा भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. राजन पाण्डे र कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा.रोमा बोराले दादुरा(रुबेला विरुद्धको खोप लगाउने तरिका, भिटामिन ुएु खुवाउने तरिका, दादुराका बेला देखिने जटिलता समाधानार्थ खुवाउनुपर्ने लक्षण अनुसारका औषधि लगायतका विषयमा उपस्थित स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा सरोकारवाला सबैले दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण शक्तिका साथ प्रकोपसंग जुध्न विशेष रणनीतिसहित अघि बढ्नपर्नेमा जोड दिएका छन् । दादुरा प्रभावित अधिकांशले खोप नै नलगाएको अवस्था देखिएकाले खोप अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनुको विकल्प नरहेको सरोकारवालाको बुझाई छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले दादुरा प्रभावित स्थान र हालसम्म पहिचान भएको केशका बारेमा जानकारी गराउनुभएको थियो । श्रेष्ठका अनुसार हालसम्म नेपालगञ्जका ११ वटा वडामा ७६ विरामी फेला परेका छन् । खजुरामा पनि थप दुई केश भेटिएका छन् ।
दादुराबाट नेपालगञ्जमा एक जनाले ज्यान गुमाएका छन् । दुई दिनमा नेपालगञ्जका ३ वटा वडामा १२५८ जनाले दादुरा(रुबेला विरुद्धको खोप लगाएका छन् । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य महाशाखा प्रमुख चन्दले दादुराको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि भइरहेका गतिविधि र अख्तियार गरिएका रणनीतिबारे जानकारी गराएका थिए ।
चन्दले रोग पहिचान, उपचार, जनचेतनामूलक कार्यक्रमसंगै खोप अभियानबारे उपमहानगरपालिकाले गरिरहेका कार्यहरुबारे जानकारी गराए । स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा निर्देशक डा. शर्माले अन्य ठाउँमा दादुरा फैलिन नदिन सबै एकिकृत ढंगले लाग्नुपर्ने बताए ।
पूर्ण खोप सुनिश्चितता घोषणा भएको अवस्थामा पनि यसप्रकारको प्रकोप फैलिनु चिन्ताको विषय रहेको बताउँदै उनले संघ, प्रदेश र स्थानीय सरकार सबै गम्भीर ढंगले यसको रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने आवश्यकता औंल्याए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले दादुराको रोकथाम र नियन्त्रणका लागि कुनै कसर बाँकी नराखेर स्रोत साधनले भ्याएसम्म काम गर्ने बताए ।
उनले सबै सरोकारवाला संघसंस्था र निकायसंग समन्वय गरेर अघि बढ्ने बताए । संघीय सरकारका प्रतिनिधि जनस्वास्थ्य निरीक्षक श्रेष्ठले स्थानीय अवस्था र आवश्यकता हेरेर ठोस कार्ययोजनाका साथ खोप अभियान सञ्चालन गर्नुपर्ने बताए ।
उनले खोप अभियानबाट छुटेका बालबालिकाका कारण दादुरा प्रकोपको रुपमा फैलिएको तथ्यलाई हृदयंगम गर्दै प्रभावकारी व्यवस्थापनका लागि गम्भीर बन्नुपर्ने बताए । उनले दादुरा महामारीकै रुपमा फैलिएकाले सचेत बन्नुपर्ने बताए । छलफल तथा अभिमुखीकरण कार्यक्रमको सहजीकरण नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए ।






