रुपनी जि.एम, नेपालगञ्ज । डोल्पाबाट नेपालगञ्ज दाँतको उपचार गर्न झरेका एक जोडी कृष्ण बहादुर र विजयी कुमारी शाही । आईतबार बिहानै नेपालगञ्ज स्थित लायन्स डेन्टल अस्पताला भेटिए । झट्ट हेर्दा उमेर उस्ता उस्तै देखिने कृष्ण र विजयी कुमारी एक अर्काको भरमा साहारा बन्दै डोल्पाको मुट्केचुला गाउँपालिका वडा नं. १ बाट नेपालगञ्ज आई पुगेको आज १७ औं दिन भएको छ । दाँत दुखाईको पिडा सहन नसकेर औषधी उपचार गर्न नेपालगञ्ज झरेका यो जोडीको भनाई अनुसार एउटा दाँतको मूल्य झण्डै ५० हजार भन्दा माथि पर्दो रहेछ ।
पुषको ८ गते नेपालगञ्ज झरेका यो जोडी अहिले जिल्ला प्रहरी कार्यालय नजिकै रहेको एक होटेलमा बस्दै आएका छन् । डोल्पादेखि नेपालगञ्जसम्मको यात्रा, होटल बसाई, लोकल यातायात खर्च र खाना खर्चसंगै दाँतको उपचार खर्च जोड्दा एउटा दाँतको मूल्य झण्डै ५० हजार भन्दा माथि पर्ने कृष्ण बहादुर शाहीले बताए । ‘सुन्दा अचम्म लाग्ला हजुर तर हिसाब गरेर हेरेको त सबै कुरा जोडेर हेर्दा एउटा दाँतको खर्च मोटामोटी ५० हजार भन्दा माथि पर्न आउने रहेछ ।’ उदास भावमा उनले भने,‘यस्ता अस्पताल डोल्पामै भएको भए हामीलाई यो जाडोमा किन पो दुख पाउनु पथ्र्यो र ?’
श्रीमतीको दाँतमा आरसीसी गर्नु पर्ने र कृष्ण बहादुर आफैलाई दुख दिई रहेको ३ वटा पुरानो दाँत फालेर नयाँ हाल्नु पर्ने रहेछ । उमेरले झण्डै ५५ नाघेका दाँतको दुखाईबाट प्रताडित कृष्ण बहादुर भन्छन्,‘हामी दुुरदराजमा बस्ने जनताका लागि हाम्रै सदरमुकाम या सबैलाई पाएक पर्ने अर्कै जिल्लाको सदरमुकाम जो बीचमा परेको छ त्यहाँसम्म यस्ता अस्पतालाई सरकारले बनाई दिएको भए कति सुबिधा हुने थियो ।’ मलिन अनुहार बनाउँदै कृष्ण बहादुरले भने,‘आज हामी पहिलो पटक आएका होईनौं । योभन्दा अघिल्लो पटक आउँदापनि पैसाको खोला बगाउन बाध्य थियौं । यो पटक पनि त्यस्तै हुने भयो ।’
डोल्पामा दाँतको रोगी भएको उनै कृष्ण बहादुरले बताए । उनका अनुसार डोल्पामा दाँत दुखाईबाट पिडत बनेकाहरु घरै पिच्छे भेटिन्छन् । दाँतको सफा राख्नु पर्छ भन्ने चेतना डोल्पाका जनतामा कम भएको उनले बताए । उनले नेपाल सरकारलाई डोल्पामा दाँतको सानसानो अस्पताल बनाई दिन समेत आग्रह गरे । कृष्ण बहादुर विजयी कुमारी त दाँत दुखाईबाट आजित बनेका केवल एक जोडी हुन् । तर डोल्पामा यस्ता कयौं जोडी छन् जस्ले नेपालगञ्ज झरेर दुखेको दाँतको उपचारसम्म गर्न भ्याएका छैनन ।
क्रृणधन गरेरै भएपनि दाँतको उपचार गराउन भनि नेपालगञ्ज आएका कृष्ण र विजयी कुमारीलाई डाक्टरले भोली फेरी बोलाएको छ । नेपालगञ्ज झरेदेखि उनीहरु आफु बसेको होटेलदेखि अस्पतालसम्म ओहोर दोहोर गरेको २ हप्ताभन्दा माथि भई सकेको छ । डक्टरको भनाई अनुसार दाँत फेरेपछि उनीहरुलाई अझैं हप्तादिन नेपालगञ्जमै बस्नु पर्ने रहेछ । पहिला पनि दाँतको उपचार सोही अस्पतालमा गराएर फर्किएका यो जोडीले यस पटक कहिल्यै नदुख्ने गरी दाँतको उपचार गराई दिन डाक्टरलाई अनुरोध गर्दै भोली फेरी अस्पताल जानकालागि फर्किएका छन् ।







