काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ५ मत प्राप्त गरेका थिए ।
नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधान सभा अध्यक्षरसभामुख र २०७२ सालमा सभामुख भएका थिए । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य भए ।
प्रतिनिधि सभा चुनाव २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधान सभा चुनाव २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित भएका थिए । प्रतिनिधि सभा चुनाव २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ्ग कानुन समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।
विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसायीका रुपमा वरिष्ठ अधिवक्तासमेत रहेका उनले पञ्चायती निरङ्कुशता विरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्द पर्नुभएको थियो ।
प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा सात महिना जेल समेत परे । इलाम नगरपालिका ७ सुन्तलाबारीमा वि.सं. २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ्गले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । उनी एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै नेकपा स्थायी कमिटी सदस्य २०७५ र २०४८ देखि लगातार सांसद छन् ।
बिए र बिएल गरेका नेम्वाङ्गले प्राध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका हुन् । उनी प्राध्यापक संघमा पनि सक्रिय थिए भने नेपाल बार एसोसिएसनको महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ । गणेशमानसिंह प्रतिष्ठानले उनलाई गणेशमानसिंह जनआन्दोलन स्वर्ण पदक पनि प्रदान गरेको छ । यो निवार्चनमा विजयी भएपछि उनको संसदिय यात्रा फेरी शुरु भएको छ ।






