रुपनी जि.एम, बाँके । बाँके निर्वाचन क्षेत्र नं.१ मा नेकपा एमालेका सुर्य ढकाल प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार महेश्वर जंग गजतराज अथकलाई फराकिलो मतान्तरणले पराजित गर्दै प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित भए लगत्तै ढकालले बाँके क्षेत्र नं. १ का सम्पुर्ण मतदातालाई धन्यबाद ज्ञापन गर्दै बाँकेलाई विकासको गतिमा अघि बढ्न कसैले रोक्न नसक्ने बताए ।
हिमालय न्यूूज हबसंग कुरागर्दै नव निर्वाचित प्रतिनीधि सभा सदस्य ढकालले आफुले गर्ने पहिलो काम भनेको फत्तेपुरको सिधनियाँ घाटदेखि नर्सिरी सम्मको बाटो बनाउने बताए । यस्का साथै उनले आफुुले गर्ने कामको प्राथामिकतामा कोहलपुर चप्परगौडीदेखि खडकवार हुँदै घुईयाबारी अन्तरप्रदेशिय मार्ग बनिरहेको छ उक्त मार्गमा थप बजेट थपेर निमार्ण कार्य सम्पन्न गर्ने पनि बताए ।
यसका साथै ढकालले बेमौसमी मौसमले राप्ति नदिमा फुटाएको बाँधलाई बनाउने पनि बताए । कुराकानीकै क्रममा उनले थुप्रै कामहरु गरेर बाँकेको समग्र विकासमा आफ्नो ध्यान गएको बताउँदै उनले विशेष गरेर यो वर्ष बाँकेको नरैनापुरमा भएको सुख्खा क्षेत्रका जनतामा राहत उपलब्ध गराउन पनि बताए । ढकालले बाँकेका सबै खरको छाना भएका घर धुरीलाई टिनको छाना उपलब्ध गराउने पनि बताए ।
समग्र बाँकेको विकासकालागि पुर्व योजना बनाएर चुनावी मैदानमा होमिएका ढकालले ५ हजार ३ सय ९४ मत ल्याएर आफ्ना प्रतिद्धन्द्धी अथकलाई हराउँदै विजय भएका छन् । ढकालले २५ हजार २६ मत प्राप्त गरेका छन् भने नेकपा माओबादी केन्द्रका महेश्वर जंग अथकले १९ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२, चप्परगौडी स्थायी बसोबास भएका ढकालको राजनीतिको शुरुवात विद्यार्थी जीवनदेखि नै भएको थियो ।
अनेरास्वियूबाट शुरु भएको उनको राजनीति अहिले पार्टीको बलियो खम्बा बन्दै देश र जनताको पक्षमा उभिएको छ । बाँकेको समग्र विकासकालागि ढाकाल नै उपयूक्त नेता भन्दै बाँके क्षेत्र नं. १ का जनताले उनलाई भारी मत दिएर जिताएका छन् । एमाले नेता ढकालले आफ्नो राजनीतिक जीवनमा जिल्ला र प्रदेशमा मात्रै नभई केन्द्रमा पनि राम्रो छाप छोड्न सफल भएका छन् । उनलाई जनताले सहयोगी, मिजासिलो र नागरिकका समस्या समाधानमा पहल गर्ने युवा नेताका रूपमा चिन्दछन् ।
वि.सं. २०४५ सालबाट निरन्तर राजनीतिमा लागिरहेका ढकालले शैक्षिक ज्ञान भने राजनीतिक शास्त्रबाट स्नातकोत्तर सम्मको गरेका छन् । ढकालको जीवनमा उनले जेलको अनुभव पनि बटुलेका छन् । राजनीति गर्दाका थुप्रै संघर्षका अनुभवहरु छन् । अनेस्ववियु प्रारम्भिक कमिटीको सदस्य, अध्यक्ष, जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष, अध्यक्ष ,अञ्चल अध्यक्ष, इन्चार्ज र केन्द्रीय सदस्य सम्मको यात्रा पार गरेर आज उनी प्रतिनीधि सभाको सदस्य बन्न सफल बनेका छन् ।
उनी राष्ट्रिय युवा संघको अञ्चल कमिटी सदस्य, अध्यक्ष, केन्द्रीय सदस्य, इन्चार्ज, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख, केन्द्रीय सचिव, उपाध्यक्ष र कार्यवाहक केन्द्रीय अध्यक्षसमेत बन्न सफल भए । पार्टी कमिटीतर्फ ढकालले गाउँ कमिटी सचिव, जिल्ला सदस्य, क्षेत्रीय कमिटी संयोजक, इन्चार्ज, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए ।
अहिले उनी एमाले केन्द्रीय कमिटी सदस्यका साथै बाँके इन्चार्ज समेत हुन् । ढकाल मदन भण्डारी फाउन्डेसन बाँके जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष र केन्द्रीय कमिटी सदस्य भएर समेत भएर काम गरी सकेका छन् । उनी विभिन्न संघसंस्थामा पनि रहेर आफुले पाएको जिम्मेवारीमा खरो उत्रिएका छन् । राजनीतिबाहेक अन्य कुरालाई प्राथमिकतामा नराखेका ढाकालले राजनीतिक अनुभव बोकेर विकास निर्माण र नीति निर्माणका योजना बनाउन निकै क्रियाशील हुन्छन् ।






