रुपनी जि.एम, बर्दिया । ‘ठूूला भनिएका दल र दलीय नेताहरुले सम्बृद्ध बर्दिया बनाउनै सकेनन् । उनीहरुले यहाँका सोझा जनतालाई केवल आश्वासन मात्र देखाए । तर अब जनताले बुझि सकेका छन् । अब बर्दियाको मुहार फेर्ने पालो हामी युवाहरुको हो’ यो भनाई हो प्रवेश भुषालको
उनी मंसिर ४ गते हुन गई रहेको संघिय निर्वाचनकालागि बर्दिया क्षेत्र नं. १ बाट स्तन्त्र दलको उम्मेदवार बनेका छन् । विभिन्न विधामा आवद्ध भएर सबै कुराको अनुभव बटुल्दै जीवनको परिभाषा बनाउन रुचाउने उनै प्रवेशलाई यस पटक भने निर्वाचनमा आवद्ध भएर राजनीतिको अनुभव बटुल्न मन लागेछ । राजनीति उनको नितान्त नयाँ बाटो र सिकाई बनिरहेको छ ।
उमेरले ३ दशक पार गर्दै गरेका उनी आई टी इन्जिनियर भएपनि साहित्य तिर अलि बढी रुचि भएको बताउँछन् । एउटै पेशामा थिर हुनु हुँदैन थीर भईयो भने अरु नयाँ कुराको खोजी गर्ने मौका पाईँदैन भन्ने सोंच भएका उनी आफुलाई बर्दियाको मुहार फेर्ने एक मात्र सक्षम युवा भन्न रुचाउँछन् । विभिन्न क्षेत्रमा नयाँ नायँ कुराको खोजी गर्दै अभ्यास गर्न रुचाउने उनले राजनीतिलाई पनि एउटा अभ्यासका रुपमा नै लिएर अघि बढी रहेका छन् ।
उनी बिहानै आफ्ना सहकर्मी साथीहरुलाई बोकेर आफ्नो निर्वाचन क्षेत्र भरी छरीएर रहेका जनताका घरमा पुगी सकेका हुन्छन् । घरदैलो अभियानकै क्रममा रहेका उनै प्रवेशलाई हिमालय न्यजू हबले बर्दियाको बढैयाताल स्थित बजारमा घरदैलोमै लागि रहेको अवस्थामा भेटेको थियो । त्यतिबेला उनले आफुु राजनीतिमा प्रवेश गर्नुको कारण ‘समबृद्ध बर्दिया र नयाँ बर्दिया’ बनाउने आफ्नो एक मात्र उद्येश्य रहेको बताए ।
दल र दलीय नेताहरुको व्यवहारबाट बिच्छिप्त बनेका प्रवेश आफैपनि ‘स्तन्त्र पार्टी’ नामक एउटा छुट्टै दलमा आवद्ध छन् । दलीय नेताहरुबाट असन्तुष्ट बनिरहंदा आफै फेरी दलमा नै आवद्ध हुुनु भएछ नि भन्ने प्रश्नमा उनी भन्छन्,‘हाम्रो स्तन्त्र पार्टी भन्ने दल जनतालाई आश्वासन मात्रै दिने र नेता आफु धनी बन्ने होईन । हामीले काम गर्नका लागि केवल एउटा युनिटी बनाएका मात्र हौं ।’
एक्लै काम गर्दा र समूहमा काम गर्दाको नतिजा फरक हुन्छ भन्दै उनले आफु दलमा आवद्ध भएतापनि आफ्नो पार्टी र देशका अन्य ठूला पार्टीबीच आकाश र जमिनको अन्तर भएको बताए । जनता र आफुमा कुनै भिन्नता नभएको बताउँदै उनले आफुले भोगका समस्याहरुलाई समाधान गर्न राजनीतिको बाटो सहज हुने ठम्याईँका साथ आफु राजनीतिमा लागेको बताए ।
जनताका घरदैलोमा पुगेर उनले बर्दियाको सम्पुर्ण समस्याको समाधान गर्नलाई जम्मा तीनवटा विषयमा ध्यान दिए पुग्ने बताए । तीन वटा ‘उ’ को सिद्धान्तका आधारमा बर्दियाको विकास सम्भव देखेका उनले ‘उत्पादन, उद्योग र उद्यम’ लाई आफ्नो चुनावी एजेण्डाको प्राथामिकतामा राखेका छन् ।
तीन वटा ‘उ’ को सिद्धान्तलाई प्रस्ट्याउँदै उनले उत्पादनलाई कृषिसंग जोडेका छन् । जस्मा मल, बिउ, सिंचाई, विपद व्यवस्थापन र बजार व्यवस्थापान भनेर व्याख्या गरेका छन् । त्यसैगरी उनले उद्योग र उद्यमलाई पनि बर्दियाको विकासको निम्ति बलियो खम्बाको रुपमा लिएर आफ्नो चुनावी एजेण्डा बनाएका छन् । यो संगसंगै उनले शिक्षा र स्वास्थ्यका विषयलाई पनि आफ्नो चुनावनी एजेण्डा बनाएको बताए ।
विगतमा पनि कुनै राजनीतिक दलसंग आवद्ध नभएका उनी यो निर्वाचनमा भने बर्दियाका मतदाताहरुका लागि नितान्त नयाँ अनुहार हुन् । ठूला दल र बुढा नेताहरुले देश र राजनीति बिगारेको आरोप लगाउँदै नयाँ जोश, उत्साह र सम्बृद्ध बर्दिया बनाउने सपना बोकेर हिंडेका उनलाई उनका मतदाताहरुले जिताउँछन् या हराएर निराश बनाउँछन् ? यस्को नतिजा मंसिर ४ गतेपछि नै थाहा हुनेछ ।






