काठमाडौ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटनको सबै मुद्दाका बहस माघ ३० गतेभित्र सकिनुपर्ने बताएका छन् । आइतबार संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन् । आफूहरुलाई पनि समय चाहिने भन्दै बहसको समय छोट्याउन प्रधानन्यायाधीशले आग्रह गरेका हुन् ।
उक्त मुद्दामा आइतबार सरकारी वकिलको बहस सकिएको छ । अझै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र एमिकस क्युरीका वकिलको बहस र रिट निवेदकका वकिलको जवाफी बहस बाँकी छ । आइतबार प्रधानमन्त्री ओलीका निजी वकिल रमेश बडालले बहस गरेका थिए । प्रधानन्यायाधीश राणाले सुरुमा उनलाई २० मिनेट समय दिएका थिए ।
तोकिएको समयमा बडालको बहस नसकिएपछि थप १० मिनेट समय दिएका थिए । पुस ५ गते प्रतिनिधिसभा विघटनकालागी मन्त्रिपरिषद बैठकको सिफारिसमा विद्यादेवी भण्डारीले हस्ताक्षर गरेर विघटनकोलागी आदेश दिएकी थिइन् । लगत्तै संसद विघटन संविधानविपरित भन्दै सर्वोच्च अदालतमा दर्जन बढी मुद्दा दायर भएका थिए । सोही मुद्दाको सर्वोच्च अदातलको संवैधानिक इजलासमा पुस २१ गते निरन्तर सुनुवाइ भइरहेको छ ।






