काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको चिनियाँ खोप आपूर्तिका विषयमा प्रश्न उठाउँदै परराष्ट्र मन्त्रालयले पत्र पठाएपछि चीनले तत्काल खोप लैजान ताकेतासहितको पत्र पठाएको छ । खबरहबलाई प्राप्त पत्रअनुसार नेपालले माग गरेको आपूर्ति कम्पनीको कागजात पछि उपलब्ध गराइने तर खोप अहिले नै लैजानु पर्ने भन्दै ताकेता गरेको खुलेको हो ।
‘आवश्यक कागजात पछि उपलब्ध गराइन्छ, खोप तत्काल खोप लैजानुस्, अहिले खोप संकलन गर्न नसके पछि निकै समय कुर्नुपर्छ’ भन्ने व्यहोरासहित चिनियाँ दूतावसाले नेपाललाई पठाएको पत्र खबरहबलाई प्राप्त भएको छ । पत्रमा भनिएको छ, ‘चीन र नेपालबीचको मित्रता र नेपालले कोभिड–१९ खोपहरूको आग्रहलाई जोड दिँदै चिनियाँ पक्षले अनुदान सहायता प्रक्रिया सरल बनाउँदै नेपालका लागि भ्याक्सिन उत्पादन गर्ने र पुर्याउने विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । नेपाली पक्षलाई अनुदान सहायता अन्तर्गत दान गर्नका लागि सिनोफर्म खोप तुरुन्तै लैजान सुझाव छ । कानुनी प्रावधानसम्बन्धी प्रक्रियाका लागि आवश्यक कागजात एकसाथ पछि प्रदान गर्न सकिन्छ ।’
परराष्ट्र मन्त्रालले दुवै कम्पनीले मापदण्डको पालना नगरेको दूतावासलाई पत्रमार्फत जानकारी गराएको थियो । उनीहरूले नेपालको कानूनअनुसार दर्ता प्रक्रियाका लागि आवश्यक कागजात पनि उपलब्ध गराएका छैनन् । यसबारे परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको थियो । नेपालमा चिनियाँ खोप आपूर्तिका लागि ‘पी एन्ड जी होल्डिङ्स प्राइभेट लिमिटेड’ र ‘हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेड’ले अनुमतिका लागि आवेदन दिएका थिए ।
तीमध्ये खोप आयातका लागि कुन कम्पनी आधिकारिक हो भन्ने द्विविधा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘पी एन्ड जी होल्डिङ्स’ ले सिङ्गापुरको कम्पनी ‘ब्लु स्टोन ग्लोबल टेक्नोलोजी प्राइभेट लिमिटेड’ मार्फत खोप आपूर्ति गर्ने भन्दै मूल्यसूचीसहित औषधि व्यवस्था विभागमा अनुमति माग गरेको छ । तर, ‘पी एन्ड जी’ले पनि खोप आपूर्तिका लागि आवश्यक पर्ने कागजातहरू भने उपलब्ध गराएको छैन । यस विषयमा चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई चेतावनीपूर्ण जवाफ पठाए पनि परराष्ट्रले सोधेको अनुमतिका लागि आवश्यक कागजात उपलब्ध गराउने र कम्पनीको आधिकारिकता बारेमा भने कुनै जवाफ दिइएको छैन ।
चीनले नेपाललाई पठाएको पत्रमा नेपालले अहिले नै खोप नलगे पछि उपलब्ध हुन नसक्ने समेत उल्लेख छ । दूतावासले भनेको छ, ‘सिनोफार्म खोपको माग उच्च भएका कारण आपूर्ति निकै कठिन बन्दै गएको छ । चिनियाँ पक्षले नेपालका लागि भने विशेष व्यवस्था गरेको छ । नेपाली पक्षले तत्काल सिनोफार्मले विकास गरेको खोप संकलन गर्न नसकेको अवस्थामा यो खोप अन्य व्यापारिक परियोजनका लागि वितरण गरिनेछ । त्यसपछि नेपालले चिनियाँ खोप पाउन निकै समय कुर्नुपर्ने छ।’
यता परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले यो विषयमा आफूलाई कुनै पनि जानकारी नभएको भन्दै प्रवक्तासँग बुझ्न आग्रह गरे । प्रवक्ता सेवा लम्सालले पत्रका बारेमा जानकारी नभएको भन्दै केही समयपछि टेलिफोन गर्न आग्रह गरे पनि पछि उनी सम्पर्कमा आइनन् । माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको तीन लाख डोज सिनोभ्याक खोप अनुदानमा उपलब्ध गराउने जनाएको थियो ।
गत शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्रीबीचको टेलिफोन वार्तामा पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता चीनले जनाएको परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको थियो । भारतले नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएपछि चीनले पनि नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।






