बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको ब’ला’त्का’रपछि ह’त्या गरिएको भनिएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत उनको माघ २१ गते ह’त्या भएको थियो ।
विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जङ्गलमा उनको वि’भत्स ह’त्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ । आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको जनाएको छ ।
आयोगले बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत समेत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।






