काठमाण्डौ । संसारमा आइसकेपछि एकदिन जानैपर्छ । यो शाश्वत सत्य हो । यसलाई कसैले रोक्न सक्दैन । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि प्रकृतिको यही नियम लाग्यो । जाँदा सबै रित्तै जाने हो । खाली हात नै जाने हो । शताब्दी पुरुष जोशी पनि रित्तो हात नै जानु भएको हो ।
तर, फरक के हो भने उनका हात देश र समाजलाई केही न केही दिँदादिँदै रित्ता भए । उनी रित्तिएर गए । तर, जति रित्तिए पनि उनी भरिएको प्रमाण हो उनीप्रति उर्लिएको श्रद्धाको भिड । यसरी दिँदादिँदै जाने बेला भने उनी भरिएर गए ।
विक्रम संवत् १९७७ सालमा पाटनको बखुम्बहालमा शंकरराज जोशी र राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका जोशीले नेपाली भाषा, कला, संस्कृति, सम्पदाको संरक्षण, संवर्द्धन, विकास तथा विस्तारका लागि आफ्नो सिङ्गो जीवन खर्चिए ।
विक्रम संवत् २०१३ सालमा ‘हाम्रो लोक संस्कृति’ पुस्तकका लागि पहिलो पटक, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि २०१७ सालमा दोस्रो पटक र २०२८ सालमा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उनलाई संयुक्त रुपमा मदन पुरस्कार प्रदान गरिएको थियो ।
यसरी तीन पटक मदन पुरस्कार पाउने पनि उनी पहिलो व्यक्ति हुन् । २०१५ सालमा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक जोशीका संस्कृतिसम्बन्धी दश वटा पुस्तक प्रकाशित भएका छन् भने दुई वटा कविता सङ्ग्रह, पाँच वटा कथा सङ्ग्रह, दश वटा नाटक र नेपाल भाषाका केही कृतिहरु छन् ।
समालोचकहरुले उहाँको ५० वटा पुस्तक प्रकाशन भएको जनाएका छन् । नेपालको कला संस्कृतिको संरक्षणमा लागेबापत उनीलाई सुप्रबल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीप पुरस्कार, पद्यश्री साधना सम्मान प्राप्त भएको छ भने काठमाण्डौ विश्वविद्यालयले मानार्थ विद्यावारिधि पनि प्रदान गरेको छ ।
जोशीको सम्मानमा राष्ट्र बैंकले उहाँको तस्बिर अङ्कित चाँदीको सिक्कासमेत निष्कासन गरेको छ । दुई हजार ५ सयको २५ हजार, एक हजारको २५ हजार तथा एक सयको दश हजार थान सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको चित्र रहेको छ ।
२०७६ साल वैशाख ३० गते सय वर्ष पुग्नु भएका वाङ्मय शताब्दी पुरुषको सम्मानमा ललितपुर महानगरपालिकाले बिदा दिएको थियो भने एक वर्षभरि जन्मशताब्दी महोत्सव मनाएको थियो । करिब पाँच वर्ष गोरखापत्रको पत्रकारका रुपमा पनि जोशीले काम गरेका थिए ।
अरनिकोका विषयम नेपालमा कुरा हुने गरे पनि पूर्ण जानकारी नहुँदा उनले चीन पुगेर अरनिकोले बनाएका सम्पूर्ण सम्पदाको अध्ययन गरेर ‘कलाकार अरनिको’ भन्ने किताब नै प्रकाशित गरेका थिए । नेपालमा गाईजात्राका अवसरमा हुने हास्यव्यङ्ग्यलाई व्यवस्थित रुपमा प्रारम्भ गर्ने काम पनि जोशीले गर्नुभएको हो ।
२०३५ सालदेखि हास्य कलाकारहरुलाई बटुलेर उनले प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमको प्रारम्भ गरेका थिए । शताब्दी पुरुषको शतायु पनि धेरैको चासो विषय हुने गरेको छ । प्रायः डाक्टर र स्वास्थ्य विज्ञहरुले भन्ने गरेका दीर्घायुका सुझाव पनि उनको सन्दर्भमा पनि विपरीत हुने गरेको देखियो ।
बुढो भएपछि माछा, मासु र रक्सी खानुहुन्न भन्ने जस्ता विज्ञको सुझाव भन्दा फरक उनको प्रिय खाना नै माछा, मासु थियो । बेलुका सुत्ने बेलामा एक प्याला रक्सी उनको मित्र हो । यति भए पनि शतायु काट्दा पनि उनका दाँत टोक्न, चपाउन मिल्ने गरिका बलिया थिए ।
आँखामा चश्मा हुँदैन थियो । कानमा सुन्ने मेसिन थिएन । अनि बुढेसकालको सहारा मानिने लौरो उनको साथी थिएन । वाङ्मय शदाब्दी पुरुष जोशीप्रति हाम्रो पनि श्रद्धासुमन । उज्यालोबाट ।






