कर्णाली । कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । मुगुमा आठ जनाको मृत्यु भएको छ । कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ । कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन् । यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो ।
तिलाकर्णाली र कुकुर खोला दोभानमा रहेको घाटमा शव जलाउँदै गरेका बेला घटना भएको प्रहरीले जनाएको छ । सोमबार अबेरसम्म कोही पनि फेला परेका छैनन् । उनीहरू पहिरोसँगै तीलाकर्णालीमा बगेको हुन सक्ने स्थानीयवासी बताउँछन् । ‘गाउँका करिब ७० जना मलामी गएका थियौं। धेरै जनामाथि नै थिए। घाटमा शव जलाउँदै गरेका १३ जना पहिरोमा बगे । धेरैले भागेर ज्यान जोगायौं’, स्थानीय बासिन्दा कमल शाहीले भने ।
बेपत्ता हुनेमा कालीबहादुर शाही, धनबहादुर शाही, छत्रजंग शाही, खगेन्द्र शाही, भेषबहादुर शाही, धन शाही, अलि शाही, खेमराज शाही, मानबहादुर शाही, मोतीलाल शाही, परबहादुर शाही, प्रशान्त शाही र नरेश शाही रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कालीकोटका प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष परबहादुर शाही पनि छन् । राँचुलीका २२ वर्षीय हेमराज शाहीको शनिबार मृत्यु भएपछि उनीहरू आइतबार मलामी गएका थिए। दागबत्ती दिँदादिँदै घटना भएको जनाइएको छ ।
राँचुलीमै लालका शाही, बालीगाउँमा ममता विष्ट, जेनी विष्ट र ध्रुव विस्ट बेपत्ता भएका छन् । एक भारतीय नागरिक पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। दसैं मनाएर सुर्खेत फर्कंदै गरेका प्रहरी जवान पदम रावत पनि शेराखोलमा बगेर बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले पहिरोमा बेपत्ता २३ मध्ये सोमबार चार जनाको शव फेला परेको बताए । अझै मलामीसहित १९ जना बेपत्ता छन् ।
उनका अनुसार कर्णाली राजमार्गमा पहिरो खसेका कारण राहत र उद्धारमा कठिनाइ भइरहेको छ । पहिरोले गाउँ नै जोखिममा परेपछि राँचुलीका १ सय परिवारलाई घरबाट स्थानीय कालिका माविमा सारिएको छ । गाउँका अधिकांश घरमा क्षति पुगेको छ । मुगुको छायानाथरारा नगरपालिका–११ स्थित सालिममा आइतबार दिउँसो दुई परिवारका आठ सदस्य पुरिएका हुन् ।
मृत्यु हुनेमा छायानाथरारा नगरपालिका–११ का गौरीकला बोहोरा, सुस्मिता भग्री, होजाली भग्री, वीरबहादुर भग्री, चक्रवीर बोहोरा, सक्कबहादुर सावत, कृष्णा सावत र हाजिरा भग्री रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो ३ बजेको घटना सञ्चारसेवा अबरुद्ध हुँदा सोमबार बिहान १० बजे सञ्चारले काम गरेपछि मात्र जानकारी आएको हो। वर्षातले खत्याड गाउँपालिका–९ को खोलीबाडा बस्तीलाई विद्यालयमा राखिएको छ ।
हुम्ला र डोल्पामा मृतक ७ पुगे
वर्षाजन्य विपद्का कारण हुम्ला र डोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ । खानेपानी लिन धारामा गएका ताजकोट गाउँपालिका–५ का खेमराज ढकालको ढुंगा लागेर मृत्यु भएपछि हुम्लामा वर्षाका कारण मृत्यु हुने को संख्या पाँच पुगेको प्रमुख जिल्ला अकिकारी सीता परियारले बताइन् । पहिरोमा परेर आइतबार बेलुका मेल्छामको दलितबाडामा (गाउँ) का ९ वर्षीय तुल्सी कामी, १ वर्षीया सुस्मिता कामी, १ वर्षीय वसन्त कामी र ५५ वर्षीय काकी होइजाली कामीको घटनास्थलमै मृत्यु भएको थियो ।
४१ वर्षीय कामीसँगै ३८ वर्षीया श्रीमती अबकति कामी, ५ वर्षीय छोरा भुवन कामी र ७ वर्षीय निलु कामी सख्त घाइते भएका छन् । उनीहरूको गाउँकै मेल्छाम स्वास्थ्यचौकीमा उपचार भइरहेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । सुर्खेतबाट दैलेख हुँदै साविकको कर्णाली जोड्ने कर्णाली राजमार्ग पूर्णरूपमा अबरोध भएको छ । पहिरोमा परेर सर्केगार्ड गाउँपालिकाको राहदेव गाउँमा ५ घर उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।
पहिरोले हिल्सा सिमकोट सडक खण्डको च्याछहरामा बाटो भत्किँदा नाख गाउँपालिका र सिमकोट गाउँपालिकाको आवतजावत पूर्णरूपमा बन्द भएको जिल्ला प्रकोप उद्धार समिति हुम्लाले जनाएको छ । निरन्तरको वर्षासँगको हिमपातमा परेर हिमाली जिल्ला डोल्पामा दुई जनाको मृत्यु भएको छ । वर्षासँगको हिमपातका कारण चिसोले कठ्यांग्रिएर माथिल्लो डोल्पा पुगेका २ जनाको मृत्यु भएको हो ।
चिसोले जिल्लामा आएका पर्यटकहरूको भारी बोकेर गएका ठूलीभेरी नगरपालिका–७ का ३२ वर्षीय नरेन्द्र विक र ठूलीभेरी नगरपालिका–९ का ४६ वर्षीय कर्णबहादुर डाँगीको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक निरन्जन थापाले बताए । थापाका अनुसार विकको शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्ममा र डाँगीको डोल्पोबुद्ध गाउँपालिकाको तिन्जेबाट धो आउँदै गरेको बेला मृत्यु भएको हो । मृतक दुवै जनाको सव आज बिहान हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
फसे पर्यटक
सिमकोट गाउँपालिका–१ मा पर्ने चाङला हिमाल घुम्न गएका सात जना पर्यटक फसेका छन् । हिमालको दृश्य अवलोकनका लागि गएका पाँच बेलायती र २ नेपाली पर्यटक हिमपातका कारण हिमालमै थुनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गएको मंगलबार सिमकोटदेखि हिमालतर्फ गएका पर्यटकहरू हिमालतर्फ जाने क्रममा बीच बाटोमै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी परियारले जानाकरी दिइन् ।
सडक सम्पर्क विच्छेद
कर्णालीमा सडक सम्पर्क विच्छेद भएको छ। वर्षातका कारण प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट विभिन्न जिल्ला जोड्ने मुख्य सडकहरू अबरुद्ध हुन पुगेका छन् । सुर्खेतबाट दैलेख हुँदै साविकको कर्णाली जोड्ने कर्णाली राजमार्ग पूर्णरूपमा अबरोध भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक सुवराज बमले राजमार्गको कालीकोट खण्ड पूर्णरूपमा बन्द रहेको बताए । कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डमा मात्रै १२ भन्दा बढी स्थानमा पहिरो गएको प्रहरी निरीक्षक बमले बताए ।
‘कर्णाली राजमार्गस्थित सेरी घाट पुलनजिकै छेडाघाटस्थित राजमार्गलाई तिला नदीको बहावले १५ मिटर सडक बगाएको छ । त्यहाँ चट्टानका कारण तत्कालै नयाँ सडक निर्माण गर्न सकिने अवस्था छैन । अन्य ठाउँमा पनि कतै पहिरो खसेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ । हामीले केही स्थानमा पहिरो हटाउने प्रयास गरेका थियौँ । तर, वर्षात भइरहेकाले सकेका छैनौं,’ उनले भने । कर्णाली करिडोरमा समेत यातायात आवागमन ठप्प रहेको उनले बताए ।
दैलेख खण्डको दरबारेभीर, सांगेतडा, बोटखोलालगायत स्थानमा पहिरो खसेका कारण राजमार्ग पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । निर्माणाधीन अवस्थाको मध्यपहाडी राजमार्गको दैलेख खण्ड पनि अबरुद्ध छ । ठाउँ–ठाउँमा पहिरो गएका कारण यातायातका साधन सञ्चालनमा आउने सकेको छैन । रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–१ राङ्चे खोलास्थित मध्यपहाडी राजमार्गमा खसेको पहिरोका कारण सडक पूर्णरूपमा बन्द भएको छ ।
दैलेख–सुर्खेत सडकखण्ड पनि ध्वस्त छ । यात्रु अलपत्र परिरहेका छन् । लगातार बर्षातका कारण सडक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको नारायण नगरपालिकाका विजय शर्माले बताए । दैलेख–सुर्खेत सडकखण्डमा ५० भन्दा बढी ठाउँमा पहिरो र ढुंगा लडिरहेको र १५ भन्दा बढी ठाउँमा सडक भासिएको दैलेखका चेतन गिरीले बताए । ‘निकै चुनौतीपूर्ण यात्रा छ। आइतबार रातिदेखि यात्रु बाटोमा अलपत्र छन् । बाटोको गुणस्तर कमजोर हुँदा जति पटक बाटो मर्मत गरे पनि बाटोको सुधार हुने देखिँदैन्, झन कर्णालीको अन्य जिल्लाको हालत के होला ?’, उनले भने ।
दैलेखका प्रहरी नायब उपरीक्षक ९डीएसपी० भुवनेश्वरप्रसाद साहले दैलेख सुर्खेत सडकखण्ड बन्द रहेको र सोमबार बिहानैदेखि खुलाउने प्रयास भइरहेको बताए। ‘दैलेख–सुर्खेत सडक खण्डको चुप्रा क्षेत्र, मटेला क्षेत्र, माथिल्लो डुंगेश्वर, जिरो पोइन्ट, घोडाबास तथा डबल गैरा क्षेत्रमा कतै पहिरो गएको छ, कतै सडक भासिएको छ, पाँच देखि १० मिटरसम्म सडक भासिएको छ ।’ डीएसपी साहले भने ‘हामी सडक खुलाउने प्रयास गरिरहेका छौं ।’ कर्णालीमा मुख्य सडकसँगै स्थानीय तह जोड्ने सहायक सडकहरू पनि अबरुद्ध छन् ।
दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सडक खुलाउने काममा सुरक्षाकर्मीसहित स्थानीय जनप्रतिनिधि खटिएको बताए । उनका अनुसार कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग, दैलेख सुर्खेत सडकखण्ड लगायतका सहायक सडकअन्तर्गत ठाउँ–ठाउँ भासिएका छन् । पहिरो गएका कारण यातायातका साधानहरू पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उनले बताए । सुर्खेतको वीरेन्द्रनगरदेखि कोहलपुर जोड्ने रत्नराजमार्गमा पनि विभिन्न स्थानमा पहिरो खसेका कारण निर्वाध रूपमा सवारी आवागमन सञ्चालन हुन सकेको छैन । अन्नपुर्ण






