बाँके । बाँकेको कुसुममा दुई बालिका घरबाटै हराएका छन् । दाङसँग सिमा जोडिएको जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षका बन्दना बिक र निशा परियार तीन दिनदेखी घरबाट हराएका हुन् । परिवारका अनुसार मंगलबार बेलुका करिब ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरु एक्कासी हराएका थिए ।
बालिका हराएको दुई दिनपछि बिहीबार मात्र इलाका प्रहरी कार्यालय कुसुममा परिवारले निवेदन दिएको स्थानीय प्रहरीले जनाएको छ । इप्रका कुसुमका निमित्त इञ्चार्ज एवम् प्रहरी सहायक निरीक्षक टेकबहादुर केसीले परिवारको निवेदन प्राप्त भएपछि खोजी गर्ने काम सुरु भएको बताए । ‘बालिका हराएको विषयमा हामीलाई हिजो (बिहीबार) मात्र परिवारबाट जानकारी भयो, हामीले बालिकाको फोटो र हुलिया टिपेर माथी पठाइदिएका छौं,’ केसीले भने ।
बन्दना र निशा दुबैका आमा दोस्रो विवाह गरेर अन्यत्रै गएका छन् । बुवाले दोस्रो विवाह गरेपछि उनीहरु हजुरबुवा र हजुरआमासँग बस्दै आएका थिए । दुबैका बुवा रोजगारीका लागि घर बाहिर रहेको बुझिएको छ । आफन्तका अनुसार निशाको आमा दोस्रो विवाह गरेर अन्यत्रै गएपछि माउली हजुर बुवासँग बस्ने गरेकी थिइन् । यस्तै बन्दनाकी आमा पनि दोस्रो विवाह गरेर अन्यत्र गएपछि घरमा कान्छी आमा र हजुरआमासँग बस्दै आएकी थिइन् ।
‘दुबैको घर नजिक छ, निशा र बन्दनाको अवस्था मिल्दो जुल्दो थियो, दुबै जना एकदमै मिल्ने गथ्र्ये,’ आफन्त बिक्रम नेपालीले नागरिकसँग भने । अहिलेसम्म आफन्त कहाँ चारैतिर सम्पर्क गर्दा पनि कतै पत्ता नलागेको उनले सुनाए । ‘आफन्त कहाँ जताततै फोन सम्पर्क गर्दा पनि पत्ता लागेको छैन, उनीहरु कहाँ गए ? अथवा कस्ले लिएर गयो भन्ने केही खुलेको छैन,’ नेपालीले भने ।
बिक्रमका अनुसार त्यसदिन निशाले खाना पकाएको भनि बन्दनालाई आफ्नो घरमा लिएर गएकी थिइन् । खाना खाएर सुत्न भनि कोठामा पसेका उनीहरु त्यहाँबाट कहाँ गए ? परिवारले पत्तो नै पाएनन् । आफन्तका अनुसार निशाले स्थानीय कुसुमेश्वर माध्यामिक विद्यालयको कक्षा ४ र बन्दनाले सोही विद्यालयको कक्षा ३ मा पढ्छन् । ‘कोठामा किताबहरु त्यसै छाडेका छन्, लगाउने कपडाहरु सबै कोठामै छन्, बडो अचम्मको घटना भएको छ ।’
बिक्रमले भने ‘हामी आफन्तहरु साह्रै चिन्तामा छौं ।’ राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्काले दुई जना बालिका घरबाटै हराएको जानकारी आफूले पाएपछि खोजी कार्यमा सक्रियता देखाउन प्रहरीलाई आग्रह गरिएको बताए । ‘घरबाटै बालिकाहरु हराएको घटना सार्वजनिक भएको छ, यसमा प्रहरीले सक्रियता पूर्वक खोजी कार्य र अनुसन्धानलाई अगाडि बढाउनुपर्छ,’ उनले भने ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले बालिका हराएको विषयमा अनुसन्धान सुरु गरिने बताए। ‘घटनाको वास्तविकता बुझेर उनीहरुको अवस्था पत्ता लगाउँछौं,’ मल्लले भने । नागरिकमा अर्जुन ओलीले लेखेका छन् ।






