काठमाण्डौ । छैटौँ संस्करणको साफ महिला च्याम्पियनशिप २०२२ को उपाधि बङ्ग्लादेशले जितेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्यो । बङ्ग्लादेशको जितमा स्याम सुन्हारले खेलको १४ औँ र श्रीमोती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन् । फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।
पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरेको थियो । त्यस लगत्तै नेपालले एक गोल खान पुग्यो । यससँगै नेपाल उपविजेतामै सीमित हुन पुग्यो । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा सान्त्वना गोल गरिन् । साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएको हो । नेपाल भने पाँचौँ पटक फाइनलमा पराजित बनेको छ ।
यसअघि पाँचमध्ये चार पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो । यसअघिका सबै संस्करण भारतले जितेको थियो । सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल बङ्ग्लादेशसँग पराजित हुँदा फेरि पनि उपाधि जित्न असफल भयो । नेपाललाई हराएको बङ्गलादेश पहिलो पटक च्याम्पियन बन्यो ।






