बाँके । भैरहवामा जारी प्रदेश स्तरिय खेल अन्तरगर्त महिला व्याटमिन्टन महिला व्याटमिन्टन प्रतियोगितामा बाँकेको सुस्मा श्रेष्ठ प्रथम भएकी छन् । आज सोमबार प्रतियोगिताको फाइनल खेलमा रुपन्देहीको पुजा बिष्टलाई सोझो सेटमा पराजित गर्दै श्रेष्ठ प्रथम भएकी हुन् । ‘कुनैपनि खेल आफैमा एउटा टफ लेबलको हुन्छ मेरोलागि पनि यो खेल टफ नै थियो । किनभने मैले अरु खेलाडीले जस्तो गरी नियमित अभ्यास गर्न पाएकी थिईन ।
खेलसंगै अध्ययन अनि पत्रकारीता पेशा मा पनि आवद्ध भएको हुनाले मैले समय मिलाएर अभ्यास गर्नु पर्ने हुन्थ्यो । यो जीत मेरोलागि साँच्चै नै निकै अप्यारीलो जीत भएको छ ।’ सुस्मा भन्छिन्,‘मेरो आफ्नै केही कारणले गर्दा मैले अझैं राम्रो खेल्न सकेन । समस्याका बाबजुद पनि मैले राम्रो खेल्न सकें र प्रथम भएर बाँकेको नाम राख्न सकेकोमा निकै नै खुशी लागी रहेको छ ।’
२० वर्षकी सुस्माको टार्गेट अब नेशनल गेमकालागि रहेको छ । हिमालय न्यूजसंग कुरा गर्दै सुस्माले भनिन्,‘देश व्यापी रुपमा बाँकेलाई चिनाउने चाहाना छ । त्यसकालागि मैले अब दिलो ज्यान दिएर आफुलाई तयार गर्नुछ ।’ खेलमा सानैदेखि रुचि भएको र परिवारले पनि प्रोत्साहन गरेको हुनाले आफुलाई प्रदेश स्तरिय खेलमा प्रथम खेलाडीको सफलता पाउनमा सहज भएको उनी बताउँछिन् । उनको भनाई अनुसार पहिलाको तुलनामा अहिले व्याटमिन्टन खेल निकै नै प्रतिस्पर्धात्मक बन्दै गईरहेको छ ।
खेलको चुनौतिका विषयमा कुरा गर्दै सुस्माले जिल्लामा अभ्यास गर्दा ‘प्लास्टिक कप’ बाट गरिएको र प्रदेश स्तरिय प्रतियोगिताकालागि भैरहवामा ‘फेदर कप’ बाट गरिएको हुनाले त्यसमा आफुलाई अलि असहज भएको उनले बताईन् । खेलको फाईनसम्म पुग्छु भन्ने सोंच बनाएकी सुस्माले प्रदेशकै प्रथम खेलाडी बन्दा शुरुमा विश्वास गर्न गाह्रो भएको अनुभव पनि सुनाईन् ।
बाँकेका व्याटमिन्टन प्रशिक्षक जयन्द्र श्रेष्ठका अनुसार प्रदेश स्तरिय खेल सिंगल महिला व्याटमिन्टन प्रतियोगितामा श्रेष्ठले फाइनलमा बिष्टलाइ २१–१६ र २१–१५ को सेटमा पराजित गर्दै सुस्मा प्रथम भएकी हुन् । यस अघि महिला व्याटमिन्टन प्रतियोगितामा पाल्पाका दिया शाक्यलाई सोझो सेटमा पराजित गर्दै श्रेष्ठफाइनल प्रवेश गरेकी थिईन् ।
आज भएको प्रदेश स्तरिय व्याटमिन्टन, कबड्डी र फुटबल खेलमा बाँकेले जित हासिल गरेको छ । प्रदेश स्तरिय खेल छनोट प्रतियोगितामा बिजेता टिम वा व्यक्तिले ९ औं राष्ट्रिय खेलकुद पोखरामा हुने प्रतियोगितामा भाग लिनेछन् ।






