काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको समूह सक्कली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको दाबी गरेका छन् । दरबारमार्गमा भएको सभामा प्रधानमन्त्री ओलीले काठमाण्डौको सबैभन्दा ठूलो ठाउँ छान्दा पनि मानिसहरू नअटेको भन्दै यसबाट पार्टीको आधिकारिकताको फैसला भएको दाबी गरेका हुन् ।
अझै पनि कतिपय मानिसमा कुन समूह सक्कली हो भन्ने अलमल रहेको भन्दै ओलीले भने, ‘जहाँ तपाईँ हामी छौँ, कम्युनिस्ट पार्टी मात्रै नभएर देशकै मूल पार्टी त्यही हो ।’ ओलीले शुक्रवार काठमाण्डौमा इतिहासकै ठूलो सभा भएको दाबी गर्दै सभामा आउन नदिन अनेक प्रयास गर्दा पनि मानिसहरू आएको बताउनुभयो । ओलीले अब देशमा नरभक्षी आन्दोलन नहुने बताए ।
नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकामा जनसभा सुरु हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट र्याली निकालिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् ।






