काठमाण्डौ । नेपालमा पछिल्लो समय डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ । साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ भने सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् ।
मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १२ सय ९१ जनामा डेंगु देखिएको छ । सबैभन्दा कम संक्रमित सुदूरपश्चिम प्रदेशमा देखिएका छन् । सुदूपश्चिममा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार लुम्बिनीमा ५८३, प्रदेश नम्बर १ मा १४४, गण्डकीमा ५२, मधेशमा ४८ र कर्णाली १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
पुसदेखि यता ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । योपनि पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । थप तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार पाँच जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा दुई हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा दुई सय ६ जना सङ्क्रमित थपिएका छन् भने तीन सय ९८ जना निको भएका छन् । अब नेपालमा दुई हजार आठ सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा ९८ हजार चार सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






