नेपालगन्ज । बाँकेको नेपालगन्जमा हात्ती पाइले रोगविरुद्धको अभियान प्रभावकारी हुन नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बुधबार हात्ती पाईले तथा आम औषधी सेवन सम्बन्धि लैंगिक समानता तथा सामाजिक समावेशीकरण अध्ययन नतिजा सार्वजनिक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । नेपालगन्ज उप–महानगरपालिकाले हात्ती पाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई नगरबासीको साथ र सहयोगका लागि प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा नगर उपप्रमुख कमरुद्धिन राईले आम औषधी सेवन अभियानमा औषधी सेवन गर्नुपर्ने एकजना ब्यक्ति पनि छुट्न नहुँने भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निरन्तर सकारात्मक सन्देश प्रवाह भएमा अभियान प्रभावकारी हुने बताए । ग्रामीण भन्दा सहरी क्षेत्रमा समस्या देखिएको भन्दै उनले अभियान गर्मी मौसममा नभई समय परिवर्तन गर्न सुझाव दिए ।
त्यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्य । महिला स्वास्थ्य स्वयमसेविका नारायणी रुपाखेती, मुस्लिम धर्मगुरु मौलाना जब्बार मञ्जरी, कार्यपालिका सदस्य बशन्तकुमार कनौजिया, अधिकारकर्मी बशन्त गौतम लगायतले आम नागरिकले निर्धक्क औषधी सेवन गर्ने वाताबरण बनाउन सबै पक्षबीच नियमित सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द्र, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल लगायतले यो अभियान सरकारी तबरबाट मात्रै सफल नहुने भन्दै सामुहिक साथ र पहल गर्नुपर्नेमा जोड दिए । गत वर्ष संचालित कार्यक्रममा बाँकेमा ५० प्रतिशतले मात्रै औषधी सेवन गरेका छन् । बाँकेमा १२ बर्षदेखि यो कार्यक्रम निरन्तर चलिरहेको छ । तरपनि पुर्ण रुपले सफल हुन भने सकिरहेको छैन ।






