काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर आठ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय १९ जनाको नमुना परीक्षण गरेकोमा आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा पाँच सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार दुई सय ५९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ९० हजार चार सय ४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै बाँकेमा मंगलवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ५, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ४, जमुनाह नाकामा ३ र राप्तीसोनारी गाउँपालिकामा २ गरी १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएका मध्ये एकजना भने जिल्ला बाहिरका हुन् ।
मंगलबार संक्रमण पुष्टि भएकासहित बाँकेमा हालसम्म कोरोनबाट २१ हजार २९० जना व्यक्ति संक्रमित भइसकेका छन् । यस्तै थप २ जना निको भएका छन् । योसहित निको हुनेको संख्या २० हजार ८४५ पुगेको पनि वलीले बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या ९२ पुगेको छ । ५ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने ८७ जना होमआइसोलेसनमा बसिरहेका छन् । लक्षण चिन्हसहितका बिरामीलाई भेरी अस्पतालको कोभिड वार्डमा लैजाने गरिएको छ ।






