काठमाण्डौ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाको रुपमा बुझिरहेको आरोप लगाएका छन् । आज आईतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद भट्टराईले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक बीमाका रुपमा बुझेको आरोप लगाएका हुन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यावसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताए । सांसद भट्टराईले स्वास्थ्य बीमाको दायरा बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख रुपैयाँ बनाउनुपर्ने बताए । उनले वर्तमान सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको पनि आरोप लगाएका थिए ।
सांसद भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धन सरकारलाई पञ्चमुखी सरकारको संज्ञा दिएका थिए । उनले गङ्गालाल अस्पतालमा ६० वर्षे उमेरहदका कारण सेवानिवृत्त गर्नुपर्ने डाक्टरका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्रीको निर्देशनमा ६३ वर्षको उमेर हद गर्ने गरेर नियमावली संशोधन गरिएकोप्रति आपत्ति जनाएका थिए ।






