रुपनी जि.एम
बर्दिया । गत बैशाष ३० गते सम्पन्न स्थानिय तह निर्वाचनबाट बर्दियाको बढैयाताल गाउँपालिका वडा नंं. ६ मा वडाध्यक्षको रुपमा नेपाली कांग्रेसका शुक्रराज सापकोटा निर्वाचित भए । उक्त पालिकाको ९ वटा मध्य ७ वटा वडामा नेकपा एमालेले आफ्नो बर्चस्व कायम गरीरहंदा उनी एक मात्र त्यस्ता उम्मेदवार थिए जस्ले बिना गठबन्धन जनताको मत प्राप्त गरे र वडाध्यक्ष हुन सफल भए ।
राजनीतिमा सक्रिय कार्यकर्ताको रुपमा उनको पहिचान नभएता पनि राजनीति के हो भन्ने कौतुहलतामा उनले २०४५ सालमा विद्यार्थी हुँदा नै नेपालीका कांग्रेसको भातृ संगठन (नेपाल विद्यर्थी संघ) नेवीसंघको साधारण कार्यकर्ताको रुपमा उनले विद्यार्थी राजनीतिलाई बुझेका थिए । आस्थाका हिसाब नेपाली कांग्रेसमा लागेका उनले राजनीति संगै ब्यापार तिर आफुलाई सक्रिय बनाउन थाले ।
पोखराबाट २०३६ सालमा बर्दियाको साबिकको जमुनी गाविस वडा नंं. १ फुटाहा भन्ने ठाउँमा बसाई सराई गरी आएका उनी एक सफल व्यापारीका रुपमा पनि चिनिन्छन् । अन्नपुर्ण राईस मिल सञ्चालन गरेका उनले व्यापार संगसंगै पार्टीमा पनि विस्तारै आफ्नो सक्रियता देखाउन थालेपछि पार्टीले उनलाई वडादेखी क्षेत्रीय कोषाध्यक्ष हुँदै प्रदेश क्षेत्रीय सदस्य सम्म बनायो ।
राजनीति र व्यापार दुुबैलाई ब्यालेन्स बनाउँदै लैजाने क्रममा सापकोटालाई राजनीति नै त्यो एक माध्यम हो जस्बाट आफ्नो वडाको किसान र व्यापारिहरुको उचित व्यवस्थापन गर्न सकिन्छ भन्ने लागेर वडामा अध्यक्षको दाबी गर्दै उम्मेदवारी दिए । देशैभरी पाँच दलिय गठबन्धन हुँदापनि उनले चुनाव लडेको उक्त पालिकामा भने गठबन्धन थिएन ।
राजनीतिक पृष्ठभूमि त्यति बलियो नहुँदापनि र गठबन्धनको गाँठो नकसिएको ठाउँमापनि उनले हिम्मत गरेर चुनाव लड्ने निणर्य गरे । माओबादी र कांग्रेसको लगभग बराबरी हैसियत राख्ने उनको वडामा जीत हुन्छ नै भन्ने खासै अनुमान लगाउन सकिने अवस्था थिएन । तरपनि चुनावी प्रचारप्रसारमा उनको दौडधुप निकै नै थियो । मिजासिलो स्वभावका उनी भोट माग्न घरदैलो अभियानमा हिंड्दापनि विपक्षि पार्टीका मतदाताहरु संगपनि भोट माग्न पछि परेनन् ।
अन्ततः नेकपा एमालेका रामहर्ष थारु र नेकपा माओबादीका जंग बहादुर थारुलाई पछिपार्दै मतपरिणाम उनकै पक्षमा आयो र उनी जनताद्धारा चुनिएका नवनिवार्चित जनप्रतिनीधिका रुपमा उक्त वडाको वडाध्यक्ष बन्न सफल भए । उनकालागी वडाध्यक्षको यो पद राजनीतिमा भर्खरै बामे सर्नकोलागी सिक्दै गरेको बच्चा जस्तै हो ।
तरपनि व्यापारमा पाको उनले जनताले दिएको जिम्मेवारीलाई व्यापारमा जस्तै परिपक्क तरिकाले सम्हाल्ने छन् भन्ने कुरामा सो वडाका वडाबासीहरु विश्वस्त छन् । उमेरले पाँच दशक पार गरेका नवनिर्वाचित वडाध्यक्ष शुक्रराजले आफ्नो वडामा अव्यवस्थित भएका व्यापारलाई व्यवस्थित गर्न, किसानका मुद्यालाई राजनीतिक एजेण्डा बनाएर लैजान,
त्यस क्षेत्रका किसानलाई उचित बजार भाऊको व्यवस्थापन गर्न, स्वास्थ्य, शिक्षा, खानेपानी लगाएतका विषयमा आफ्ना वडाबासीलाई भरपुर सेवा प्रदान गर्न आफुु लागी पर्ने उनको भनाई छ । वडामा उनको उम्मेदवारी केवल उक्त वडाबासीको समस्यालाई नजिकैबाट नियाल्दै त्याहाँका जनतालाई आवश्यक सेवा प्रदान गर्न र राजनीतिमा आफ्नो पनि पहिचान बनाउनकालागी भएको उनको भनाई छ ।






