रुपनी जि.एम
धरान । नपत्याउने खोलाले बगाउँछ भन्ने उखानलाई धरानका जनताले गत बैशाष ३० गतेको स्थानिय तहको निर्वाचनमा चरितार्थ बनाईदिएका छन् । एउटा साधारण मान्छे, साधारण परिवारबाट धरान उपमहानगर पालिकाको मेयरमा निर्वाचित भएका छन् । धरानका जनताले परिवर्तन चाहेका रहेछन् त्यसैले उनीहरुले स्वतन्त्र उम्मेदवारका रुपमा मेयरमा उठेका हर्क साम्पांग राईलाई मेयर बनाईदिए । मेयर बन्छु बन्दिन भन्ने कुरामा नवनिर्वाचित मेयर राई आफु नै दोधारमा थिए । तर जनताले उनलाई विश्वास गरे र धरानको विकासकालागी उनलाई नै जिताईदिए ।
आफ्नो फरक परिचय नबनाएका एक आम सर्वसाधारण हर्कराज साम्पाङ राईले मेयर जितेर धेरैलाई अचम्मित पारे । चुनाव प्रचार प्रसारमा उनी एक्लै हिंड्थे । उनका कुरा सुन्नलाई एकाध बाहेक धरान बासीहरु हुदैनथे । तर पनि उनल आफ्ना भनाईलाई चौतारामा, धरानका गल्लीहरुमा, चोकचोकमा राख्न छाडेनन् । धरान परिवर्तनकालागी आफ्ना एजेण्डा र योजनाका साथ उनी बोली रहे केवल आफु मात्रै बोली रहे । उनका कुरा सुन्नलाई उनी बोली नै रहे । तर उनका सुन्न कोही पनि बाहीर निस्किएनन् ।
ठूला पार्टी भनाउँदाहरुको डरले या लाजले थाहा थिएन तर एकाध बाहेक अरु कोहीपनि बाहीर निस्किएर उनका सुनेन् । तर घरभित्रैबाट उनका एजेण्डाहरु सुनि बसे । अन्ततः अन्यपार्टीको तुलनामा उनका कुरालाई धरान बासीले पत्याए । र उनलाई आफ्ना लिडर बनाईदिए । हर्कलाई सजिलो थिएन यहाँसम्मको यात्रा तय गर्नलाई । तर उनले हरेक असहज बाटोलाई पच्छ्याउँदै सहज बनादिए । उनले धेरै अपमान सहे । धेरैबाट तिरस्कार पनि सहे । तर उनी थाकेनन् । निरन्तर आफ्नो लक्ष्यमा अगाडी बढी नै रहे । अन्ततः त्यसको मिठो फल अहिले उनले चाख्न पाए ।
निर्वाचित मेयर हर्क साम्पांग राई
खोटांगको खार्तम्छमा २०३९ सालमा जन्मिएका हर्क साम्पांग राईले गाउँकै शुक्रबारे माविबाट एसएलसी दिएर ०५५ साल उच्च शिक्षा अध्ययनकालागी धरान झरे । महेन्द्र बहुमुखी क्यामपसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातक सम्म अध्ययन गरेका उनी पुर्व ब्रितिस लाहुरेका छोरा हर्कले केही समय धरानको एक ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए । त्यो कुरालाई उनाई चित्त नबुझेर उनी रोजगारीकालागी ६ बर्षसम्म विदेशी भूमीमा आफ्नो खुन पसिना बगाई रहे । इराक र अफगानिस्तानमा ६ वर्षसम्म काम गरेका उनलाई नेपाली युवाहरुको विदेशीने पिडा पनि राम्रैसंग थाहा छ ।
जागिर गरेर फर्किएका ४० वर्षका राईले धरानमा रहेको आफ्नै घरमा किराना पसल खोलेका थिए । तर उनले धरान परिवर्तन आफैबाट सम्भ देखेपछि खोलिएको उक्त पसल चलाउन श्रीमतीलाई जिम्मा दिए । त्यतिमात्र नगरी उनले केही अटोरिक्सा किनेर भाडामा पनि दिए । तर उनी आफू भने धरानवासीका समस्या समाधानका लागि सरकारी कार्यालयका ढोका ढकढकाउन थाले । साहीत्यमा कलम चलाउन जानेका हर्कले आफै गीत पनि लेख्छन् र गाउँछन् पनि । एक दशक अघि उनले मिक्सिंग हट नामको एल्बम पनि निकाले ।
उनीमा पहिलेदेखि ने देशलाई केही गरौं भन्ने भावना थियो त्यसैले उनले सबै कुरा छाडेर राजनीतिलाई नै मूल थलो बनाउने सोंचे । र राजनीतिबाटै धरानबासीको सपना साकार गर्छु भनेर उनी राजनीतिको बाटोमा लागे । धरानमा वर्षौँदेखि मुख्य समस्याको रूपमा रहेको खानेपानीलाई मुद्दा बनाएर विभिन्न आन्दोलन गरे । सुकुम्वासी बस्तीमा डोजर चलाउँदा विरोध गरे । नागरिकका समस्या समाधान गर्ने कोसिस नै राईको दैनिकी थियो । कैयौँपल्ट पुलिसले थुनामा राख्यो । २०७६ सालमा भएको उपचुनावमा मेयरमा उम्मेदवारी दिएका राईले जम्मा चार सय २२ मत ल्याएका थिए । तर हिम्मत हारेनन् ।
राईको पक्षमा खुलेर लाग्ने मान्छे खासै भेटिएनन् तर पनि एक पटक धरानको नेतृत्व गर्दै काम गरेर देखाइदिने हुटहुटी बोकेका राईले मेयर पदमा उम्मेदवारी दिए । उम्मेदवारी दिएपछि ठूला दलले दिनदिनै हजारौँको सङ्ख्यामा मान्छे जम्मा गरेर आमसभा, र्याली र घरदैलो गरे, साङ्गीतिक कार्यक्रम गरे, टोल टोलमा निर्वाचन परिचालन समिति बनाए, उम्मेदवारका पक्षमा गीत सङ्गीत सिर्जना भए, टोल बस्ती दलकै उम्मेदवारको प्रचारले गुञ्जायमान भए । तर हर्कराज राईको पक्षमा मानिसहरू खुलेर लागेनन् ।
घरदैलो अभियानमा पनि खासै साथ पाएनन् राईले । चोक–चौतारोमा भाषण गर्थे उनले तर सुन्ने मान्छे हुँदैनथे । राईले अटो रिक्सामा एक्लै भाषण गर्ने, आफैँ गितार बजाउँदै गीत गाउने र धरानको समस्या धरानवासीले नै समाधान गर्नुपर्छ भन्दै मत मागी रहे । दलहरूले पछिल्लो तीन दशकदेखि धरानमा जे गर्छु भनेर चुनाव जिते ती कुनै पनि वाचा पूरा नगरेकाले उनीहरूलाई भरोसा गर्न नहुने आफ्नो अडानलाई उनले एक्लै भए पनि सबैतिर पुर्याए ।
सामान्य जीवनशैली र सिधा कुरा गर्ने हर्क राईको पक्षमा मौन अवधि सुरु हुने बेलासम्म पनि मानिसहरू खुलेर कुरा गर्दैनथे । गठबन्धन बनाएर चुनाव लडेका कांग्रेस, माओबादी, एकीकृत समाजबादी र जनता समाजबादीका उम्मेदवार किशोर राई र एमालेबाट उम्मेदवार दिएकी मञ्जु भण्डारीले स्वतन्त्र उम्मेदवार राईको पक्षमा जनमत नरहेको आँकलन गरे, उनलाई वास्ता गरेनन् । तर मौन अवधि सुरु भएपछि दलहरूले चाल पाए, टोल–गल्ली घरघरमा जताजतै हर्कको चर्चा सुरु भइसके छ ।
हर्कराजको पक्षमा चहलपहल बढिसकेको थियो । तर पनि दलहरूलाई हर्कले जित्छन् भन्ने विश्वास नै थिएन । वैशाख ३१ गते मतगणना सुरु भयो, गठबन्धनका उम्मेदवारको अग्रता, दोस्रो स्थानमा एमाले, तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई । जेठ ३ गतेसम्म अवस्था यस्तै थियो तर त्यसपछि हर्क राईको मत बढ्यो, घरिघरि पहिलो नम्बरमा जान थाल्नुभयो, दलहरू झस्किन थाले । मतगरणा जतिजति सकिंदै थियो उतिउति हर्क राई पहिलो हुँदै गईरहे ।
अन्ततः राईले धरान उपमहानगरपालिकाको मेयर जीते । धेरैले नपत्याएका राई अब धरान उपमहानगरको मेयर बनेका छन् । पहिले यो काम भएन, त्यो काम भएन, तुरुन्त हुनुपर्यो भन्दै सरकारी कार्यालय चहार्ने राई अब आफैँ काम गर्ने र निर्देशन दिने ठाउँमा पुगेका छन् । धरानमा खानेपानीको समस्या समाधान गर्ने मुख्य वाचा गरेएका राईको परीक्षा उनी मेयर भएसंगै शुरु भएको छ । बिजुली र ढलको समस्या, सुकुम्वासी समस्या समाधान, अवैध क्रसर नियन्त्रण, सडक विस्तार लगायतका काममा उनको अग्नी परिक्षा शुरु भएको छ ।






