काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह अघि छन् । धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भइसकेका छन् । बालेन र गोपाल आ–आफ्नो क्षेत्रमा पहिल्यै चर्चित भएकाले धेरै अनौठो विषय भएन । तर धरानमा भने अहिलेसम्म आफ्नो फरक परिचय नबनाएका एक आम सर्वसाधारण हर्कराज साम्पाङ राईले मेयर जितेर धेरैलाई अचम्मित बनाएका छन् ।
बैदेशिक रोजगारीको क्रममा इराक र अफगानिस्तानमा ६ वर्ष जागिर गरेर फर्किएका ४० वर्षका राईले धरानमा रहेको आफ्नै घरमा किराना पसल खोलेर श्रीमतीलाई जिम्मा दिए । केही अटोरिक्सा किनेर भाडामा दिए । आफू भने धरानवासीका समस्या समाधानका लागि सरकारी कार्यालयका ढोका ढकढकाउन थाले । धरानमा वर्षौँदेखि मुख्य समस्याको रूपमा रहेको खानेपानीलाई मुद्दा बनाएर विभिन्न आन्दोलन गरे ।
सुकुम्वासी बस्तीमा डोजर चलाउँदा विरोध गर्नुभयो, नागरिकका समस्या समाधान गर्ने कोसिस नै राईको दैनिकी थियो । कैयौँपल्ट पुलिसले थुनामा राख्यो । २०७६ सालमा भएको उपचुनावमा मेयरमा उम्मेदवारी दिएका राईले जम्मा चार सय २२ मत ल्याए । तर हिम्मत हारेनन् । राईको पक्षमा खुलेर लाग्ने मान्छे खासै भेटिएनन् तर पनि एक पटक धरानको नेतृत्व गर्दै काम गरेर देखाइदिने हुटहुटी बोकेका राईले मेयर पदमा उम्मेदवारी दिए ।
उम्मेदवारी दिएपछि ठूला दलले दिनदिनै हजारौँको सङ्ख्यामा मान्छे जम्मा गरेर आमसभा, र्याली र घरदैलो गरे, साङ्गीतिक कार्यक्रम गरे, टोल टोलमा निर्वाचन परिचालन समिति बनाए, उम्मेदवारका पक्षमा गीत सङ्गीत सिर्जना भए, टोल बस्ती दलकै उम्मेदवारको प्रचारले गुञ्जायमान भए । तर हर्कराज राईको पक्षमा मानिसहरू खुलेर लागेनन्, घरदैलो अभियानमा पनि खासै साथ पाएनन् । चोक–चौतारोमा भाषण गर्थे तर सुन्ने मान्छे थिएनन् ।
राईले अटो रिक्सामा एक्लै भाषण गर्ने, आफैँ गितार बजाउँदै गीत गाउने र धरानको समस्या धरानवासीले नै समाधान गर्नुपर्छ भन्दै मत माग्न छाडेनन् । दलहरूले पछिल्लो तीन दशकदेखि धरानमा जे गर्छु भनेर चुनाव जिते ती कुनै पनि वाचा पूरा नगरेकाले उनीहरूलाई भरोसा गर्न नहुने आफ्नो अडानलाई उनले एक्लै भए पनि सबैतिर पुर्याए ।
सामान्य जीवनशैली र सिधा कुरा गर्ने हर्क राईको पक्षमा मौन अवधि सुरु हुने बेलासम्म पनि मानिसहरू खुलेर कुरा गर्दैनथे । गठबन्धन बनाएर चुनाव लडेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका उम्मेदवार किशोर राई र एमालेबाट उम्मेदवार दिएकी मञ्जु भण्डारीले स्वतन्त्र उम्मेदवार राईको पक्षमा जनमत नरहेको आँकलन गरे, उनलाई वास्ता गरेनन् ।
तर मौन अवधि सुरु भएपछि दलहरूले चाल पाए, टोल–गल्ली घरघरमा जताजतै हर्कको चर्चा सुरु भइसकेछ । हर्कराजको पक्षमा चहलपहल बढिसकेको थियो । तर पनि दलहरूलाई हर्कले जित्छन् भन्ने विश्वास नै थिएन । वैशाख ३१ गते मतगणना सुरु भयो, गठबन्धनका उम्मेदवारको अग्रता, दोस्रो स्थानमा एमाले, तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ।
जेठ ३ गतेसम्म अवस्था यस्तै थियो तर त्यसपछि हर्क राईको मत बढ्यो, घरिघरि पहिलो नम्बरमा जान थाल्नुभयो, दलहरू झस्किन थाले । पछिल्लो तीन दिनदेखि त हर्क राई पहिलो नम्बरबाट दोस्रो नम्बरमा झर्नुपरेन । अन्ततः राईले धरान उपमहानगरपालिकाको मेयर जिते । धेरैले नपत्याएका राई अब धरान उपमहानगरको मेयर बनेका छन् । पहिले यो काम भएन, त्यो काम भएन, तुरुन्त हुनुपर्यो भन्दै सरकारी कार्यालय चहार्ने राई अब आफैँ काम गर्ने र निर्देशन दिने ठाउँमा पुगेका छन् ।
धरानमा खानेपानीको समस्या समाधान गर्ने मुख्य वाचा गर्नुभएका उनको परीक्षा आजैदेखि सुरु भएको छ । बिजुली र ढलको समस्या, सुकुम्वासी समस्या समाधान, अवैध क्रसर नियन्त्रण, सडक विस्तार लगायतका काम उनले गर्नुपर्नेछ । दलहरूले नागरिकको पक्षमा काम नगर्दा एक भुइँ मान्छे कसरी मेयर बन्छ भन्ने उदाहरण दिएका राई आफ्ना प्रतिबद्धता पूरा गर्न कत्तिको सफल हुनुहुनेछ । दिनगन्ति आजैदेखि सुरु भएको छ । उज्यालोबाट






