रुपनी जि.एम
बर्दिया । झण्डै एक हप्तापछि वाईफाई भएको ठाउँमा पुगें । स्थानिय तहको निर्वाचनको रिर्पोटिंगकालागी नेटवर्कको पहूँचदेखि टाढै थिएँ म । डंगोलबाट डाटा त ओपन हुन्थ्यो तर केवल अनलाईनमा समाचार पोष्ट गर्नकोलागी । निर्वाचनकै कारण समाचार सम्प्रेसर गर्ने प्रेसरमा अन्य कुरा (युट्युव, टिकटक) जस्ता कुरा हेरेर बस्ने समय थिएन । त्यसैले सामाजिक सञ्जालमा के भईरहेको छ त्यो कुरादेखि म निकै पर थिएँ । म टिकट युजर भएतापनि नेटवर्ककै कारण मैले टिकटक हेर्न पाएकी थिएन ।
जब मेरो कार्य क्षेत्रको निर्वाचनको मतपरिणाम सार्वजनिक भयो र म आफ्नै घरमा फर्किएँ । तब म नेटवर्कको पहूँचमा मजैले पुर्गे । फ्रेस भएर जब टिकटक हेर्न थालें तब टिकटको ट्रेडिंगमै परेको फेरी अर्को बलात्कृत किशोरीको भिडियो हेरें । उनका कुरा सुन्दा एकछिन त म छक्कै परें । त्यसपछि साथीहरुको फेसबुक प्रोफाईल हेरें । अनलाईनका समाचारहरु हेर्न थालें । जब वास्तविकता बुझें मेरा हतपाऊ सिथिल भए । दिमाग एकछिन् शुुन्य भयो । उनका कुरा सुन्दा मलाई त यस्तो भयो भने नाबालिग हुँदा भोग्ने उनलाई कस्तो भयो होला ?
अनि अहिलेपनि उनीमा के बितिरहेको होला ? र पनि आफ्ना कुरालाई एउटा कन्फिडेन्टको लेबलबाट न्याय पाउने आशामा अनि पिडकलाई कार्वाही गराउने दृढतामा उनले आफुलाई नै खुलाईन् । सामाजिक सञ्जालमा पिडित हुनुका बाबजुद अन्याय पुर्ण कुराको विरोध गर्दै उनी आफु जस्तै पिडितहरुकालागी एक खम्बाका रुपमा प्रस्तुत भईन् । जब बोल्नु पर्छ भन्ने चेतनाको उनीमा विकास भयो तब उनी बोल्न शुरु गरीन् । उनले बोलेका तिनै कुराहरुलाई पढ्न सक्ने तर सुन्न नसक्नेहरुकालागी मैले कलेक्शन गरेर लेख्ने प्रयास गरें ।
‘मैले ६, ७ वर्षकी हुँदा ३, ४ वटा चलचित्रमा काम गरेकी थिएँ । त्यति बेला नै मैले मोडल हुन्छु, हिरोइन हुन्छु भनेर सोचेकी थिएँ । त्यसपछि १२ को परीक्षा सकिएपछि मैले अडिसन दिएँ । त्यहाँ म छनोट त भइनँ, तर त्यतिबेलाको फोटो सार्वजनिक भएपछि मलाई पीडकले फोन गर्यो र फोटो सुटका लागि बोलायो । त्योबेला म एकदम उत्साहित भएँ । किनभने, म मोडल हुन चाहन्थेँ ।
त्योबेलामा एउटा अनलाइनको एउटा नाम चलेको फोटोग्राफर र उसले मलाई फोटो सुटका लागि बोलाए। मेरो फोटो खिचे र ५ हजार रुपैयाँ दिए । उसले भन्यो, ऊ ‘ब्युटी प्याजेन्ट’को आयोजक हो भन्यो । म त्योबेलामा फष्ट रनरअप भएकी थिएँ । त्योबेलाका सबै प्रमाणहरु राखेकी थिएँ । तर, २०१८ तिर ती सबै प्रमाणहरु मैले डिलिट गरेँ । अहिले म कसैको नाम पनि सार्वजनिक गर्न सक्दिनँ । किनभने, मसँग प्रमाणहरु छैनन् ।
विजेता भएपछि ‘सक्सेस पार्टी’ मा बोलाइयो । एभरेष्ट होटलमा बोलाइएको थियो । म पुगेँ । तर, त्यहाँ कोही पनि थिएन । मैले सोधेँ, अरु खै ? उसले भन्यो, तिमी छिटो आयौ, बस्दै गर, अरु आउँदै छन् । म बसेको केही समयपछि ‘वेलकम ड्रिंक्स भनेर आइस हालेको कागती पानी ल्याएर दियो, त्यो मैले खाएँ । त्यसको १०, १५ मिनेटपछि आफूलाई असहज महसुस गरेँ ।
म घर जान्छु भन्दा उसले केटीहरुलाई गाह्रो होला भनेर एउटा रुम लिएर राखेको छु भन्यो । त्योबेलामा म १६ वर्षकी मात्र थिएँ। उसले सबैजना आएपछि कसैलाई लिन पठाउँछु, तिमी आराम गर भन्यो । अनि म रुममा गएँ । मलाई केहीबेरमा थोरै–थोरै होस खुलेको थियो । तर, केही थाहा पाएको थिइनँ । म होसमा हुँदा उसले मलाई केही गरिरहेको थियो, जुन निकै पीडादायक थियो ।
साढे ४, ५ बजेतिर होस खुल्दा उ मेरो छेउमा थियो । उ र म दुवैजना नग्न थियौँ । बिस्तारामा रगत थियो । त्यो देखेर म धेरै रोएँ । त्यसपछि उसले मैले तेरो ब्यागमा २० हजार रुपैयाँ हाल्देको छु, तिमीलाई पैसा चाहिएको थियो, त्यसैले यस्तो भयो भनेर मलाई म्यानुप्लेट गर्न थाल्यो । त्योबेलामा ढोका बन्द थियो । मैले पेसा हेरेँ । त्यो मान्छेलाई हेरेँ । अनि ऐनामा आफैँलाई हेरेँ । नग्न थिएँ ।
त्योबेलामा मैले सोच्न सकिनँ कि यो साँच्चै के भएको छ । उसले मलाई यो कुरा कसैलाई भन्यो भने फोटो, भिडियो सार्वजनिक गर्ने भन्यो । किनभने, उसका नाम चलेका फोटो पत्रकार साथी छन् भन्यो । उसले मलाई ट्याक्सी बोलाइदियो । त्योबेलामा मेरो शरीरले केही प्रतिक्रिया गर्न सकेकै थिएन । म ट्याक्सी चढेर घर आएँ । कसैलाई केही भनिनँ । केही महिनापछि उसले मलाई फोन गर्न थाल्यो ।
५,६ महिनासम्म उसले मलाई उसका केही साथीहरुसँग उसको अगाडि सुत्न लगायो । यसले मलाई के–के गर्न लगायो भनेर भन्न पनि सक्दिनँ । त्यो समय मलाई आत्महत्या गर्न पनि मन लागेको थियो । पूरै ब्रेक डाउन भएको थियो । त्योबेलामा मेरो एकजना केटा साथी थियो । मैले उसलाई सबै कुरा भनेँ । अनि म र मेरो ब्वाइफ्रेण्ड उसको कन्सल्टेन्सीमा गयौँ । त्यहाँ भएका सबैलाई बाहिर निकाल्यौँ । त्यहाँका कर्मचारी र मँसगका केही ब्युटीप्याजेन्टका बिजेता थिए । त्यहाँ एकजना मात्र आइन् ।
त्यहाँ त्यो पीडकलाई मेरो ब्वाइफ्रेण्डले धेरै पिट्यो । मैले पिट्न पाइनँ मात्र एक थप्पड मात्र लगाए होला । मैले त्यहीँबाट मिस नेपाललाई फोन गरेँ र सबै कुरा सुनाएँ । यो मान्छेले मलाई ६ महिनादेखि यो–यो कुरा गर्यो भनेँ । त्योबेलामा उनले किन यो सबै कुरा मलाई सुनाएको ? यो तिम्रो समस्या हो, मेरो हैन भनेर फोन काटिन् । त्यो सुन्दा कस्तो लाग्यो होला, मैले उसलाई मेरो आइडल मानेर फोन गरेकी थिएँ । त्योबेलामा म सानै थिएँ, त्यो सुन्दा कस्तो लाग्यो होला ।
मसँगको भिडियो भाइरल भयो भने पनि मलाई केही मतलब छैन । मैले बिजेता र सेकेण्ड रनरअपलाई फोन गरेर सबै कुरा भनेँ । त्योबेलामा उनीहरुले आइ बिलिभ यु भने । त्योबेलामा कन्सल्टेन्सीमा उनीहरु पनि थिए । त्यहाँ उनीहरुलाई देखेर म छक्क परेँ । अनि सोचेँ, मलाई कसैले सहयोग गरेन । किनकि यो मेरो गल्ती हो । किनकि म त्यो प्रतियोगितामा सहभागी भएँ । तर, त्यो मेरो गल्ती थिएन ।
यौन हिंसा कला क्षेत्रमा मात्र हुन्छ भन्थे । होइन, सबै क्षेत्रमा हुने रहेछ । त्यसपछि मैलै काम गरेको ठाउँमा ममाथि नराम्रो काम नै भयो । मैले अफिसमा भन्दा पनि मलाई नै नराम्रो देखायो । सन् २०१४ मा एसबी सोलुसनको केसमा पनि पुलिस केस गर्न मन लागेको थियो । तर, त्योबेलामा मेरो ब्वाइफ्रेण्डले त्यस्तो नगर्न भन्यो । त्यसपछि मेरो कुनै पनि सम्बन्ध टिकाउ छैन । किनकि म कसैलाई विश्वास गर्न सक्दिनँ । ममाथि पटक–पटक विश्वासघात भएको छ । त्यसपछि म धेरैजनासँग सम्बन्धमा रहेँ । स्मोकिङ गर्न थालेँ ।
पीडाहरु सबै बाहिर आउने रहेछन् । मैले सबैकुरा ढिला बुझेँ । म धेरै वर्ष भागेँ । तर, त्यो समाधान होइन रहेछ । अब म सबै कुरा फेस गर्छु । एकदिन म राम्रो साइको थेरापिष्ट बन्ने प्रण गर्छु । २०१४ देखि २०२१ सम्म धेरै अँध्यारो वर्ष रह्यो मलाई । २०२२ बाट मलाई नयाँ समस्या नथपिएको होस् । यो सबै कुरा भनेपछि मन हल्का भयो । कुरा सुनिदिनु भयो, धन्यबाद । मलाई विश्वास छ, मलाई विश्वास गर्नुहुन्छ । माया गर्नुहुन्छ ।
के हो यो नेपालको कानून ? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइन नै लिँदैन रे कोर्टले । माल्भिकाले मलाई सरी भनिन् । रियल्ली, तिमीले मेरा लागि अलिकति पनि हेल्प गरेको भए यत्रो वर्ष मैले यो सबै भोग्नुपर्थेन । मलाई थाहा थिएन, कोर्टले फाइल लिँदैन भनेर । कोही ढिला बोल्छन्, कोही छिटो बोल्छन् । म ढिलो बोलेँ । तर, म पीडित हो नि ।’ (सन् २०१४ को ‘ब्युटी प्याजेन्ट’ मा सहभागी किशोरीको भिडियो बयानमा आधारित)






