काठमाण्डौ । २०३१ सालमा काठमाण्डौको बीएड पढाइ सकेर म जनकपुर दाइकहाँ पुगेँ। केटाकेटीदेखि नै त्यहीँ बसेकाले वास्तवमा त्यसलाई नै मैले आफ्नो घर मानेको थिएँ। आमाले त्यस बेलासम्म पहाडको घर तथा खेतीपाती अरूलाई जिम्मा लगाएर कहिले ठूलो दाइ बस्नुभएको जनकपुर र कहिले माहिला दाइ बस्नुभएको झापा, चन्द्रगढी बस्न थाल्नुभएको थियो ।
अर्थात्, यी दुई ठाउँमै आमाको बसाइको सिलसिलामा मेरो आउजाउ चलिरहन्थ्यो । मैले पढाइ सकेर जनकपुर पुगेका बेला भने आमा जनकपुरमा हुनुहुन्थ्यो । पढाइ सकेर आएको थाहा पाएपछि उहाँले खुसी मान्दै सोध्नुभएको थियो– पढाइ सकिछस् बाबु, अब के गर्छस् त ? तैंले काम गर्न थालेपछि म तैंसँग बस्छु है । मलाई सधैं यताउति हिँडिरहने नपार् है बाबु मैले बुढेसकालमा कति दुःख पाउनु ।
आमाले यी कुरा भनिरहँदा मैले केही नबोली उहाँलाई, उहाँको अनुहारलाई मात्र हेरिरहेको थिएँ । केही बोल्न सकिरहेको थिइनँ । आमाका यी कुराले मेरा मनमा आँधी चलाइरहेको थियो । केही नबोले पनि डाँको छाडेर रून मन लागिरहेको थियो । मलाई र मेरो अनुहारलाई एकोहोरो नियालेर आफ्ना मनभित्रका कुरा पोखिरहनुभएकी विचरी मेरी आमालाई म त समाज परिवर्तनको संकल्प बोकेर क्रान्तिको अनन्त यात्रामा हिँड्नै लागेको थिएँ भन्ने के थाहा
मेरी आमा
आमाका आशा र सपनाहरू मेरो आसन्न क्रान्तिकारी महायात्राले धूजाधूजा पार्दैछन् भन्ने सच्चाइ आमालाई म बताउन सक्दिनँ थिएँ । मैले त्यस बेला कहिल्यै नफिर्ने क्रान्तिको बाटो रोजिसकेको थिएँ। क्रान्तिकारी राजनीति बोकेर भूमिगत जीवन सुरूआत गर्ने अन्तिम तयारी भइइसकेको थियो मेरो । म त्यस बेला पढाइ छाडेर, पाएका सर्टिफिकेटहरू च्यातेर, स्विट्जरल्यान्डका लागि पाएको पाँचवर्षे छात्रवृत्ति समेत त्यागेर क्रान्तिकारी बाटोमा लाग्ने संकल्प गरेर हिँडिसकेको थिएँ ।
काठमाण्डौबाट पढाइ सकेर हिँड्ने बेला रत्नकुमार वान्तवा र मैले संयुक्त रूपमा संकल्प गरेका थियौं, पार्टीको भूमिगत काममा लाग्ने र यसका लागि आफूसित सम्बन्धित सबै निजी कुरा छाड्ने । पढाइका सबै प्रमाणपत्र, घरपरिवारसित सम्बन्धित सबै कुरा, निजी मित्रता र लाभहानी छाड्ने संकल्प गरिसकेका थियौं। स्विट्जरल्यान्डमा पाँचवर्षे छात्रवृत्ति पाएको र त्यसका लागि सबै प्रक्रिया पूरा भएको आदि सबै कुरा हामीले संयुक्त रूपमा छाड्ने निर्णय गरेका थियौं ।
यी सबै निर्णय गरिरहँदा हामी बेस्सरी दोमनमा पनि परेका थियौं। एकातिर आफ्नो व्यक्तिगत करिअरु को कुरा थियो, निजी सपनाहरू थिए भने अर्कातर्फ क्रान्तिकारी परिवर्तनका सपना थिए। एक किसिमले तानातानको मनस्थिति पनि बनेको थियो । सन्तान पैदा गर्नुभन्दा अगाडि आमाहरूले भोग्नुपरेको प्रसव पीडाजस्तो भएको थियो । तर निर्णयसहितको संकल्पमा पुगेपछि हामी दुवै जना आह्लादित बनेका थियौं ।
म जनकपुर दाइकोमा त आएँ, तर मेरो लवाइखवाइ, बोलीव्यवहार, सम्पर्क–सम्बन्ध आदि स्वाभाविक हुन छाडेका थिए त्यस बेला। एक किसिमले ुदिवानाु, क्रान्तिको दिवाना जस्तो भएको थिएँ म त । जनवादी–क्रान्तिकारी गीत गुनगुनाउने, त्यस्तै गीत(कविता लेख्ने, जहाँसुकै जतासुकै पनि क्रान्ति, परिवर्तन, विद्रोहका कुरा गर्ने बनेको थिएँ । पढ्ने विद्यार्थीहरू, खासगरी कलेजमा पढ्ने विद्यार्थीहरूलाई ुक्याम्पस पागलखाना शीर्षकको आफ्नो प्रिय कविता सुनाउने गर्थेँ ।
मेरो यस किसिमको गतिविधि पारिवारिक–सामाजिक परिवेशमा स्वाभाविक थिएनन् र हुन सक्दैन पनि थिए । यसै आधारमा मेरो यस किसिमको अस्वाभाविकताबारे कतिपयले टिप्पणीसमेत गर्न थालेका थिए । त्यस्तो स्थितिमा म झन्झन् एक्लिँदै गएको थिएँ । आमा मेरो यो स्थिति देखेर अचम्भित र दुःखित बनिरहनुभएको थियो । एकाधपटक त तँलाई के भो बाबु भनेर रूनु पनि भयो ।
आमालाई म केही जवाफ दिन सक्दिनँ थिएँ। यस्तो अवस्थामा म घरबाट भाग्न अर्थात् भूमिगत हुन चाहन्थेँ । त्यसैअनुसार मैले भूमिगत पार्टीका साथीहरूसँगको सम्पर्क बाक्लै बनाउन थालेको थिएँ । एकदिन, साँझसाँझ पर्न लागेका बेला एउटा सानो कपडाको झोला, त्यसमा एउटा लुंगी, माओत्सेतुङका रचना, एउटा लेख्ने कापी र एउटा कलम बोकेर हिँडे । त्यस बेला मैले एउटा सुतीको प्यान्ट र कमिज मात्र लगाएको थिएँ । आमाले हिँड्ने बेलाको मेरो चालामाला हेरिरहनुभएको थियो ।
मैले अप्ठ्यारो मान्दै आमालाई भनेको थिएँ– आमा, साथीकोमा बोलाएको छ, म गएँ है । मैले यसो भनिरहँदा आमातिर हेर्न पनि सकिरहेको थिइनँ। सायद मेरो अवस्थालाई सामान्य देखिरहनुभएको थिएन आमाले । त्यसैले होला, उहाँले मेरा हात च्याप्प समातेर रून खोज्दै सोध्नुभएको थियो,भन् त बाबु, तँलाई के भो ? र, तँ कहाँ जाँदैछस् ? आमाको यो आग्रह र प्रश्नको साँँचो उत्तर दिने साहस ममा थिएन ।
मैले आमातिर नहेरी झारा टार्ने हिसाबले ुकहीँ होइन, स्कुलमा सँगै पढ्दाको साथीले बोलाएकाले जान लागेको, आइहाल्छु क्या भनेको थिएँ । यसो भनिरहँदा मैले मेरा हात च्याप्प समाइरहेका उहाँका हातलाई एक किसिमले झड्कालेर छुटाउनु परेको थियो । म फटाफट निस्केर घरपारिको बाटोमा पुगिसकेको थिएँ । घरतिर फर्केर हेर्न पनि सकिरहेको थिइनँ ।
तर आमाले केही ठूलो तर रूँदै गरेको स्वरले मलाई केही भन्दै गरेका कुरा भने मेरा कानमा परिरहेका थिए– फर्केर मतिर त हेर बाबु, केही खा र त जा यस्तैयस्तै आग्रह र अनुनय(विनय गरिरहनुभएको थियो उहाँ । म घरतिर, आमातिर फर्केर हेर्दै नहेरी अँध्यारो हुँदै गरेको क्षितिजतिर उज्यालो हेर्ने कोशिस गर्दै फटाफट हिँडिरहेको थिएँ । आमाको स्वर मेरा कानमा गुञ्जिरहेको थियो, ए बाबु जहाँ गए पनि एकपटक फर्केर त हेर, तँलाई आमाको माया लाग्दैन, बाबु हिँड्दै गरेको बाटोका वरपरका घरहरूमा ठोक्किएर प्रतिध्वनित भएको आमाको त्यो आवाज गुञ्जिरहेको थियो ।
म भने उज्यालोको खोजीमा अँध्यारोमा निलिँदै थिएँ । हिँडिरहेको थिएँ, हिँडिरहेको थिएँ,,,,,। त्यस बेला राजनीतिक पार्टीहरू खुला रहेर गतिविधि गर्न सक्दैन थिए । उनीहरूका सम्पूर्ण गतिविधिलाई राज्यले अवैध घोषित गरेको थियो र तिनलाई राज्यविरूद्ध अपराधका रूपमा लिने गरिन्थ्यो । राज्यको यस्तो नीति रहेका कारण पार्टीमा लाग्नेहरू राज्यको सुराकीका निशाना बनेका हुन्थे । कति गिरफ्तारीमा पर्थे र यातनासहित कारावासको सजाय भोग्न बाध्य हुन्थे। कतिपय त मारिन्थे पनि ।
साँँच्चै डरलाग्दो अवस्था थियो त्यस बेला यस्तो अवस्थामा पनि निरंकुशताविरूद्ध समाज परिवर्तनको उद्देश्य राखेर क्रान्तिकारीहरू संघर्षमा होमिदै थिए। उनीहरूमा देखिएको यो संकल्प देश र जनताका लागि आत्म उत्सर्गको अनुपम उदाहरण थियो भन्ने लाग्छ अहिले पनि । हो, यही भावना बोकेर म सम्पूर्ण कुरा त्यागेर क्रान्तिकारी पार्टीको नेतृत्वमा जनतालाई संगठित गर्न भूमिगत कार्यकर्ता बनेर हिँडेको थिएँ ।
एउटा कपडाको झोला बोकेर, आमाले ए बाबु कहाँ हिँडेको, केही नभनी जाँदैछस्, भनेर त जा, मलाई किन रूवाउँछस् भन्दै पछिपछि आएको कुरालाई समेत वास्ता नगरी, पछाडि फर्केरसमेत नहेरी फटाफट हिँडेको थिएँ । आमाको रूञ्चे स्वर परपरसम्म पनि मेरा कानमा गुञ्जिरहेको थियो । कस्तो अनौठो संयोग । पहाडबाट आएको मलाई जनकपुर दाइकोमा पढ्न छाडेर घर फिर्दा कुनै दिन जसरी म आमालाई पछ्याउँदै, रूँदै, उहाँलाई बोलाउँदै हिँडेको थिएँ, मैले भूमिगत भएर पार्टी काम गर्न घर छाडेर हिँड्दा आमाको अवस्था मलाई त्यस्तै लागिरहेको थियो ।
त्यस बेला आमालाई पछ्याउँदै म रूँदैरूँदै हिँडिरहेको थिएँ । मैले त्यस बेला गरेजस्तै अहिले आमाले गरिरहनुभएको थियो । आमाले छाडेर हिँड्दा मेरो मन खपिनसक्नु गरी भक्कानिएको थियो । अहिले मैले आमालाई अनिश्चितताको भूमरीमा छोडेर हिँड्दा उहाँलाई कस्तो भएको थियो होला ? यसको कल्पनाले मात्र पनि मेरो मुटु काँपिरहेको थियो । भूमिगत कालका सुरूसुरूका दिनमा मेरो मन आमाकै सम्झनामा उडिरह्यो ।
मैले यसरी छाडेर हिँडेपछि आमामा के गुज्रियो होला ? आमाले कसरी दिन काट्नुभयो होला ? आमा कति रूनुभयो होला ? यस्तै यस्तै कुराहरू सोचिरहन्थेँ । गरिब–भूमिहीन किसानहरूका बीचमा, उनीहरूमै सम्पूर्ण रूपमा भरोसा गरेर उनीहरूसित एकाकार हुने प्रयत्न गरिरहँदा पनि आमाको सम्झनाले मलाई एक किसिमले सताइरहन्थ्यो । कहिले सोच्थेँ– आमालाई मनभरिका सबै कुरा पोखेर चिठीहरू लेखूँ । कहिले सोच्थेँ– लुक्दै छिप्दै भए पनि घरमै गएर भेटूँ ।
कहिले लाग्थ्यो– कोही विश्वासिलो मान्छेमार्फत् आमालाई कतै बोलाएर भेटूँ । यस्तैयस्तै सोचे पनि ठोस योजनाका साथ यी कुनै विकल्प कार्यान्वयन गर्ने स्थिति र अवस्था म देख्दिन थिएँ । जस्तो परिवेशमा जस्तो उद्देश्य र राजनीतिक विचार बोकेर सबै कुरा त्यागेर म हिँडेको थिएँ, संगठन, गतिविधि र आफ्नै लागि पनि निजी तथा पारिवारिक भेटघाट र आउजाउ खतरापूर्ण हुन सक्थ्यो ।
मैले पहिलो महत्वका साथ यी विषयमा ध्यान पुर्याउनै पर्थ्यो। मेरो चाहना र छट्पटी तथा परिवेश र जिम्मेवारीबीच अन्तरविरोधका कारण म असहजताको शिकार बनिरहेको थिएँ । कतिपटक त आमाका नाममा चिठीसमेत लेखेँ । आमाप्रतिको मायालाई क्रान्तिकारी भावनामा लछप्पै भिजाएर लेखिएका ती चिठी लामा लामा हुन्थे । यसरी लेखिएका चिठी मैले कहिल्यै आमालाई पठाउन सकिनँ । मेरी आमा आफैं लेखपढ गर्न सक्नुहुन्नथ्यो ।
कोही कसैले केही पठाइहाल्दा पनि अरूकै सहारा लिनुपर्थ्यो । आमाबाट यस्तो गराउनु पनि मेरा लागि जोखिम नै हुन्छ भन्ने लाग्थ्यो मलाई । मर्यो–बाँच्योको कहीँ कतै खोजखबर नगरी पाँच वर्ष बिताएपछि भाउजूका भाइलाई विशेष अनुरोध गरेर झन्डै तीन सय किलोमिटर टाढा झापामा रहनुभएकी आमालाई गोप्य तरिकाले लिन पठाएँ । त्यस बेला म जनकपुरमा केन्द्रित रही सगरमाथा जनकपुर क्षेत्र जसलाई त्यो बेला मध्य दक्षिण क्षेत्रु भनिन्थ्यो, मा काम गर्थेँ ।
यही मेसोमा जनकपुरधामको रानीपाटीमा रहेको भाउजूको माइतीमा मैले सामान्य समर्थनको स्थिति बनाएको थिएँ । कहिलेकाहीँ आउजाउको अवस्थासमेत बनाएको थिँए । त्यहाँ मेरा लागि आउजाउमा खास कसैले त्यति वास्तासमेत गर्दैनथे । हो, यही अनुकूल स्थितिबाट फाइदा उठाउँदै त्यही विन्दुलाई आमासित भेट गर्ने अनुकूल ठाउँ बनाएर भाउजूका भाइलाई आमा लिन पठाएको थिएँ । उनलाई मैले सावधानी अपनाउनुपर्ने सबै कुरा भनेको थिएँ, सिकाएको थिएँ ।
भाउजूका भाइले भोलिपल्ट आमालाई रानीपाटीमा ल्याइपुर्याए। आमा असिनपसिन भएर आइपुग्नुभएको थियो। मैले आफू लुकेर बसेको कोठाको झ्यालबाट आमालाई देखेँ । अँध्यारो–अँध्यारो कोठामा बसिरहेको म भए ठाउँँमा आमा पुग्नुभयो । म बसेको आकृतितिर आँखा नियालेर हेर्नुभयो । सायद ठम्याउन खोज्दै हुनुहुन्थ्यो । सारीको सप्को मुखमा ल्याएर आँखा र मुख छोप्न खोज्दै हुनुहुन्थ्यो । आमा भित्र पसेपछि मैले बसेको ठाउँबाट उठेर उहाँको खुट्टामा ढोगेको थिएँ ।
मेरो बाबु तँ बाँचेकै छस् । कतिले तँलाई मारिसके भनेका थिए । कतिले लुकिलुकी हिँडेको देखेँ भनेका थिए । मलाई आफू बाँँच्दै देख्न पाउँछु कि पाउँदिनँ भन्ने लागेको थियो । आमाले यति भनेर झ्यालबाट छिरेको उज्यालोमा मलाई, मेरो अनुहारलाई नियालेर हेर्नुभएको थियो । सारै दुब्लाएको, आँँखा धसेको देखेर रून खोज्दै यतिका दिनसम्म कहाँ बसिस्, कहाँ खाइस् भनेर सोध्नुभएको थियो । घरमै बसेर तँ आफ्नो काम गर्न सक्दैनस्, राम्रो काम हो भने किन लुकेर गर्छस्, सबैलाई भनेर–देखाएर किन गर्न सक्दैनस्, लुकेर त चोरहरूले पो काम गर्छन्, मलाई सारै अचम्म र अलमलमा पारिस् बाबुु यस्तै यस्तै कुरा सोध्नुभयो आमाले ।
यी कुरा भनिरहँदा उहाँ धेरैपटक रूनुभएको थियो । मैले खुलेरै आफ्ना सबै कुरा भनेको थिएँ । के उद्देश्य राखेको, कसरी काम गरिन्छ, कहाँ बसिन्छ, किन लुकेर काम गर्नुपरेको आदि विषयमा बताएको थिएँ । मैले बोलिरहँदा उहाँले एकटकले मेरो अनुहार हेरिरहनुभयो । निधारमा लगाउनुभएको चन्दन–टीका देखेपछि उहाँले श्रीवैष्णव धर्म मान्न थाल्नुभएछ भन्ने कुरा मैले बुझेँ । मैले सोधेपछि उहाँले भन्नुभएको थियो, के गर्नु बाबु, सबै आश मरेपछि धर्मकै सहारामा त बाँँच्नुपर्यो नि, म दुखियाले काल त पर्खनै पर्यो नि ।
एक दिन मसँगै बसेर आमा झापा फिर्ने हुनुभयो । मलाई लाग्यो– आमा दुःख र पीडाको पोखरी बनेर बाँचिरहनुभएको छ । तैंले मलाई छोडिहालिस्, अब मेरो एउटै कुरा छ, म बाँचुन्जेल तँलाई केही नहोस्, तँलाई केही भएको सुन्नुपर्यो भने म रोएरै मर्नेछु । गहभरि आँशु पार्दै पटुकीमा पोको पारेर ल्याएको कुनै धार्मिकस्थलको फूलटीका लगाइदिनुभयो र भन्नुभयो, रोगब्याध तैंले केटाकेटी उमेरमै काटिस्, अब तँलाई केही नहोस् ।
आमा यति सहज ढंगले बिदा हुन तयार हुनुहोला भन्ने लागेकै थिएन मलाई । तैंले आफूले रोजेको बाटो तँ आफैंले हिड्नुपर्छ भन्ने बुझेकै होलास् । आमा ज्यूँदै छ, खबर गर्दै गर्नू आमा यति भनेर अघिल्लो दिन सँगै ल्याएको झोला बोकेर हिँड्न तयार हुनुभयो। आमाको गम्भीर अनुहारमा मप्रति गाढा माया छचल्किएको त देख्न सकिन्थ्यो, तर आमा आफ्ना आँखाबाट भने आँशु बगाइरहनुभएको थिएन । मलाई केही अनौठो पनि लाग्यो ।
बिदा हुने बेला आमा रूनुहोला भन्ने लागेको थियो । तर त्यस्तो नदेखेकोले मलाई अनौठो लागेको थियो । सायद त्यसबीचका अनुभूति र भोगाइहरूबाट आमा जस्तोसुकै पीडा सहन सक्ने बनिसक्नुभएको थियो । उहाँभित्र दृढता त झन्झन् चुलिँदै गएजस्तो लाग्यो मलाई । आमा भाउजूका भाइसित बस चढ्न कोठाबाट निस्कनुभयो। भन्दै हुनुहुन्थ्यो, ुदुखिया आमा मरेकी छैन है बाबु, जति दिन बाँच्छे तिमेरको मायाले मलाई छट्पटीमा पारिरहने छ ।
यति भन्दै आमा बाहिर निस्कनुभयो। म कोठाभित्र उज्यालो छिरिरहेको झ्यालबाट उहाँलाई चियाइरहेको थिएँ । आमालाई परपरसम्म हेरिरहँँदा मेरा आँखाबाट आँशु झरेकोसमेत मैले पत्तो पाउन सकेको थिइनँ । आमा आफ्नो गन्तव्यका लागि हिँडिसक्नुभएको थियो । म भने गन्तव्यको खोजीमा अँध्यारो कोठामा आँशु बगाइरहेको थिएँ……।
(ईश्वर पोखरेलको प्रकाशोन्मुख कृति मेरी आमा का दुई अंश) सेतोपटीबाट






