काठमाण्डौ । नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । आज सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले अपराजित रहँदै उपाधि जितेको हो । योसँगै नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको हो । यसअघि सन्दीपकै कप्तानीमा त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग भएको एकदिवसीय शृङ्खलामा नेपाल पराजित भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६।१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र जोड्न सक्यो । यो सन्दीपको कप्तानीमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । पीएनजीका सेसे बाउले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जितसम्म डोहोर्याउन सकेनन् । बाउले ३८ बलमा एक चौका र ६ छक्कासहित ५९ रन बनाए । यसबाहेक पीएनजीको खातामा ओपनर चार्ल्स एमिनीले १५ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा मात्र १८ रन खर्चिए । टि(२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो उत्कृष्ट बलिङ फिगर हो । यसअघि उनले चार विकेट लिँदा २१ रन खर्चिएका थिए । यसबाहेक करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । करणले तीन ओभरमा २७ रन खर्चिंदा सन्दीपले चार ओभरमा २५ रन दिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित पीएनजीविरुद्ध १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार गरेको थियो । नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाएका थिए । उनले ३८ बलमा पाँच चौका प्रहार गरे ।
नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुदाँ दिलिप नाथ र आरिफ शेख डकआउट भएका थिए ।
यसबाहेक, आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे । पीएनजीका सेमो कामेआले तीन विकेट लिदाँ चाड सोपेर, काबुआ मोरेअ, रिले हाकुरेले समान एक विकेट हात पारे । शृंखलामा नेपाल, पीएनजी र मलेसिया सहभागी थिए । टी(२० शृंखलाअघि नेपालले पिएनजीसँग दुई एकदिवसीय खेलको शृंखला खेलेको थियो । उक्त शृंखला पिएनजीले ‘क्लिन स्विप’ गरेको थियो ।






