पहिलो पटक नख्खु कारागारका कैदीबन्दीले लगाए कोरोनाविरुद्धको खोप
ललितपुर । नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताए ।
‘सरकारले तोकेको मापदण्डअनुसार हामीले जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी सबैलाई आज पाँचबुथ राखेर दुई दिनभित्र खोप लगाइदिनेछौँ, यो खोप छदेखि सात सयलाई आज र बाँकीलाई भोलि गरी लगभग एक हजार ७०० लाई दिनेछौँ ।’
कारागारभित्र रहेका व्यक्तिले जसले कोभिडको खोप लगाउन इच्छा जाहेर गर्नेलाई मात्र लगाइने डा. गोललले जानकारी दिए । प्रजिअ ढुण्डीप्रसाद निरौलाले करागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिएका डा प्रकाश बुढाथोकीले खोप लगाएपछि देखिने असरबाट नडराउन आग्रह गरे । कोभिड खोप लगाउँदा देखिएको असर कम गर्न प्यारासिटामोल प्रयोग गर्न सकिने डा बुढाथोकीले सुझाव दिएका छन् । रासस






