एजेन्सी । जारा रदरफोर्डले खराब मौसमका कारण निर्धारित समयभन्दा दुई महिना ढिलो आफ्नो यात्रा पूरा गरिन् । उनको विमान आफ्नो लक्ष्य पूरा गरी बेल्जियमको कोर्टरिजक वेभेलगेम अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न सफल भयो ।
सुपरलाइट विमानबाट गरेको यो यात्रामा उनी एक महिना अलास्काको नोम र ४१ दिन रूसको अयानमा फसेकी थिइन् । आँधीका कारण उनी कोलम्बियामा पनि बस्नुपर्ने भयो । बेल्जियम फर्किएपछि उनलाई विमानस्थलमा परिवार, पत्रकार र समर्थकले न्यानो स्वागत गरेका थिए ।
उनको विमानसँगै बेल्जियमको रेड डेभिल्स एरोबेटिक डिस्प्ले टोलीका चारवटा विमान पनि त्यहाँ अवतरण गरेका थिए । विमानबाट ओर्लिएपछि उनले आफूलाई बेलायत र बेल्जियमको झण्डामा बेरिन् । ‘यो साँच्चै अद्भुत अनुभव भएको छ । म विश्वास गर्न सक्दिनँ ।’ उनले पत्रकारहरूलाई भनिन् ।
पत्रकार सम्मेलनमा उनले ५१ हजार किलोमिटर उडानको चुनौती पूरा गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले भनिन्, ‘यात्रामा सबैभन्दा ठूलो कठिनाइ साइबेरियामा आयो । त्यहाँ धेरै जाडो थियो । यदि इन्जिन त्यहाँ रोकिएको भए बाँच्न धेरै गाह्रो थियो । म आफ्नो अनुभव मानिसहरूलाई बताउन चाहन्छु। साथै मानिसलाई आफ्नो जीवनमा केही रोमाञ्चक चीज गर्न प्रोत्साहन दिन चाहन्छु ।’
जाराका आमा बा दुबै पाइलट थिए । उनले आफू अन्य केटीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित क्षेत्रमा लाग्न प्रोत्साहित गर्न चाहेको बताइन् । जारा रदरफोर्ड अघि विश्वभर एक्लै उडान गर्ने सबैभन्दा कम उमेरकी महिला अमेरिकाकी शाइस्ता वाज थिइन् । उनले करिब पाँच वर्षअघि २०१७ मा यो काम गर्दा उनी ३० वर्षकी थिइन् ।
पुरुषको हकमा यो कीर्तिमान हाल १८ वर्षीय पाइलट ट्राभिस लुडलोको नाममा छ । साथै जारा रदरफोर्ड अल्ट्रालाइट विमानमा विश्व परिक्रमा गर्ने पहिलो महिला बनेकी छिन् । योसँगै उनी विमानबाट एक्लै विश्व घुम्ने पहिलो बेल्जियम नागरिक पनि बनेकी छन् ।
पाँच महिना लाग्यो
यो मिसन पूरा गर्न तीन महिना लाग्ने अपेक्षा गरिएको थियो । तर धेरै ठाउँमा खराब मौसमका कारण उनको यात्रा ढिलो भएको थियो। साइबेरियामा उनको रुसको भिसा पनि सकिएको थियो । जब उनी अलास्काको नोम सहर पुगेकी थिइन्, ३९ उडानमध्ये तीनवटा मात्र समय तालिकामा सञ्चालन भइरहेका थिए ।
त्यसैले उनले त्यहाँ कुर्नुपरेको थियो । उनको राहदानी ह्युस्टनमा रूसी वाणिज्य दूतावासमा एयरमेल मार्फत पठाइएको थियो । तर नयाँ भिसाको म्याद पनि बेरिङ स्ट्रेट पार गर्नुअघि नै सकिएको थियो । इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमा उनले भनिन्, ‘यहाँको तापक्रम (१८ डिग्री छ र मेरा हातहरू साँच्चै चिसा छन्। म यहाँ करिब एक महिनादेखि छु ।’
उनले भनिन्,‘मैले विमान उड्नका लागि तयार राखेको छु। यहाँको मौसम राम्रो छैन । जहिले पनि म छोड्न चाहन्छु, कहिले रुसमा, कहिले नोममा, मौसम निकै खराब हुन्छ ।’
यात्राका बाधा
जारा साइबेरियामा हुँदा तापक्रम सतहमा (३५ डिग्री र हावामा (२० डिग्री पुग्यो । त्यसपछि एक मेकानिकले भयानक चिसोमा इन्जिन न्यानो राख्न विमानमा जाने हावा बन्द गरे । धेरै प्रयासको बावजुद, जारा रदरफोर्ड एक हप्ताको लागि मगदानमा र त्यसपछि तीन हप्तासम्म अयानमा बस्नुपर्ने भयो ।
सोही क्रममा इन्डोनेसियाको बन्दर उडारा रहाडी ओस्मान विमानस्थलमा मौसम खराब हुँदा विमानस्थलबाट बाहिर निस्कन आवश्यक कागजपत्र नहुँदा दुई रात त्यहीँ टर्मिनलमै सुत्नुपरेको थियो ।
क्यालिफोर्नियाको जंगलमा लागेको आगोबाट फैलिएको धुवाँको बीचमा उनले आफ्नो विमान उडाउनुपरेको थियो । उनको विमान न्यू मेक्सिकोमा पिटोट ट्यूबको ब्लकका कारण दुर्घटनाग्रस्त भएको थियो। यसैबीच क्रिसमसको समयमा टायर फुटेपछि उनी सिंगापुरमै बस्नुपरेको थियो । बीबीसी हिन्दीबाट






