काठमाण्डौ । चिसो मौसम त्यसमाथिपनि हिउँ नै हिउँले पुरिएको बाटो । जुन बाटोमा एक महिला जो पेशाले स्वास्थ्यकर्मी अनि उनले लगाएको कपडा सामान्य सुति र उलन्का । त्यस्तो बाटोमा पनि आफ्नो जिम्मेवारीलाई पुरा गर्न स्वास्थ्यकर्मी प्रेम कुमारी केसी ढाडमा खोपको दब्बा बोकेर लम्कदैंछिन् आफ्नै यात्रामा ।
जिम्मेवारीको भारीलाई प्रेम कुमारीले जत्तिकै सजिलै आजसम्म कसैले बोकेको छैन भन्दा पनि केही फरक नपर्ला । तस्वरीमा देखिएको यो तस्वीर अनि हिउँ नै हिउँले पुरिएको त्यो बाटो बाग्लुङको हो । त्यही बाटोमा आफ्ना क्षेत्रका नागरिकलाई खोपको डोज पुर्याउनकोलागी सोही ठाउँकी स्वास्थ्यकर्मी प्रेम कुमारी निकै संघर्षकासाथ दायाँबायाँ कतै नहेरी हिंडिरहेकी छन् ।
उनी सोही स्वास्थ्य केन्द्रकी अनमी हुन् । उनले कामका लागि गन्तव्यमा पुग्न हिउँले भरिएको बाटोमा घस्रिएर हिँड्दै यात्रा पूरा गरेकी छन् । नागरिकलाई खोप दिनैपर्ने अवस्था आएपछि उनले खोप केन्द्रसम्म पुग्न यो अवस्था भोग्नु परेको हो । तस्विर स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको फेसबुक पेजबाट लिइएको हो ।
उनले गरेको यो संघर्ष आफ्ना लागि मात्र नभएर नागरिकलाई महामारीबाट जोगाउनका लागि हो । नागरिकको जीवन रक्षाका लागि हो । हाम्रा कयौँ स्वास्थ्यकर्मीहरुले आफ्नो जीवन दाउमा राखेर नै नागरिकको रक्षा गरिरहेका छन् । महामारीमा जोखिम न्यूनिकरण गर्ने पीपीई नपाउँदा समेत नागरिकको जीवन रक्षाका लागि काम गरिरहेका तस्विरपनि यस अघि आएको नै हो ।
बाढीको बेला खोलको भेलमा आफ्नो जीवन नै प्रवाह नगरि खोप ढुवानी गरेका तस्विरपनि आएका थिए । तर दुखको कुरा नागरिक र राज्यका लागि आफ्नो जीवन नै प्रवाह नगरी काम गर्नेहरुलाई योगदानको मुल्यांकन नहुँदा सबैको मन दुख्छ । पुरस्कृत हुनेहरु ठुला बडाको वरिपरि घुमिरहेकाहरु नै मात्र हुन्छन् । तर यस्ता योद्धाहरु ओझेलमा पर्नुहुन्न । यो पटक भने राज्यले आँखा खोलेर हेर्नै पर्छ ।






