काठमाण्डौ । जनबादी गायीका लक्ष्मी गुरुङको निधन भएको छ । उनी रक्तिम सांस्कृतिक अभियानकी गायिका समेत हुन् । श्वासप्रश्वास र निमोनियाबाट पीडित गुरुङको बिहीबार भैरहवामा निधन भएको हो ।
गुरुङ रक्तिम सांस्कृतिक अभियानकी केन्द्रीय सल्लाहकार थिइन् । उनको ‘उत्तरबाट बादल आउँदा उत्तरतिरै हेर्छिन् रे, बम्बैको कोठरीमा हाम्री चेली रुन्छिन् रे’ लगायतका गीतहरु चर्चित छन् ।
उनले रक्तिम सांस्कृतिक अभियानद्वारा सार्वजनिक थुप्रै गीतमा जीवन शर्मासँगै स्वर दिएकी छन् । कास्की जिल्लाको भदौरे भन्ने ठाउँमा विसं २०२३ सालमा जन्मिएकी गुरुङ सानै छँदा उनको परिवार रुपन्देहीको बेलैया भन्ने गाउँमा बसाइँ सरेको थियो । गायिका गुरुङको निधनप्रति नेकपा (मसाल) ले गहिरो दुःख प्रकट गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार शोक वक्तव्य प्रकाशित गरी गुरुङको निधनले पार्टीले इमान्दार, आशावादी तथा कर्तव्यनिष्ठ सदस्य गुमाउनुपरेको बताएका छन् ।






