विराटनगर । समाजमा चोर र तिनका चोरी गर्ने तरिका फरक फरक हुने गर्छ । कसैले ढोका फोरेर र त कसैले झ्याल फोरेर चोरी गर्ने गरेको घटनाहरु हामीले जत्तिपनि सुन्दै आईरहेका छौं । यस्तै चोरी गर्ने क्रममा विराटनगरमा एक युवा झ्यालबाट छिरेर घरभित्र पस्दै थिए । तर अचानक उनी चिप्लिएर भुईँमा लड्न पुगे र उनको चोरी गर्ने प्रयास असफल भएको छ । भुईँमा लडेको हुनाले उनी घाइते समेत भएका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ८ मा रहेको हेमकुमारी भुजेलको घरमा झ्यालबाट पसेर चोरी गर्न ती युवक गएका थिए । तर उनले घरको कुनैपनि सामान चोर्न नपाउँदै लडेर घाइते भएका छन् । मोरङको कटहरी गाउँपालिका–२ का २५ वर्षीय सतिस विश्वास बिहान साढे २ बजेतिर लडेर घाइते भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विश्वास चोरी गर्ने उदेश्यले भुजेलको घरमा छिरेको पाइएको छ ।
घरधनीले थाहा पाएर होहल्ला गर्न थालेपछि भाग्ने क्रममा उनी छिमेकी अजिम यादवको २ तले घरको छतमा पुगेका थिए । यादवको घरबाट हाम फालेर भाग्न खोज्दा लडेर विश्वास घाइते भएको डिएसपी श्रेष्ठले बताए । घाइते युवाको टाउको, हात र खुट्टामा चोट लागेको छ । गम्भीर अवस्थाका उनलाई कोसी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।






