काठमाडौ । काठमाडौको नयाँ बानेश्वर संसद भवन नजिकै एकाएक सडक भत्किएपछि सर्वसाधारण र वरपरका निकै चकित् परे । राजधानीको व्यस्त सडक मानिने नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहानै एकाएक भ्वाङ परेको थियो ।
सडक अचानक भत्किएपछि केहीबेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो । सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठूलो भएको थियो ।
अहिले भ्वाङ परेको सडक वरपर यातायात सञ्चालनमा रोक लगाइएको छ । काठमाडौँका ठाउँठाउँका सडकमा बेलाबेला भ्वाङ पर्ने समस्या देखिने गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा सोमबार बिहानै ५ बजे खबर पुगेको थियो ।

‘सडक भत्कियो’ भन्दै फोन आएको थियो । फोन गर्नेले नयाँबानेश्वर९तीनकुनेअन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा ठूलो भ्वाङ परेको बताएका थिए । प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार १५ फिटजतिको गहिरो खाल्डो रहेको जानकारी आएको थियो ।
हरेक हिसाबले संवेदनशील मानिने क्षेत्रमा खाल्डो परेको खबरले ट्राफिक व्यवस्थापनमा बेचैनी गराउने छँदै थियो। त्यसैले उनले नयाँबानेश्वर र तीनकुनेबीचका सबै युनिटहरूलाई ‘अलर्ट’ गराएका थिए । डिभिजन सडकको टोली १० बजेपछि मात्रै घटना भएको ठाउँमा पुगेको थियो ।
टोलीले एउटा एक्स्काभेटर साथमै लिएर गएको थियो। एक्स्काभेटरले सडक कोपर्न थाल्यो । जति कोपर्दै गयो, सडकभित्र अजंगको खाल्डो देखिँदै गयो । यति ठूलो खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंगाल कारण देखिएको देवकोटाले बताए । ढलले सुरूमा मंगाल फुटाएको देखिन्छ, मंगालबाट ढल लिकेज भएपछि सडकभित्रको माटो गलाएर खाल्डो बनेको देखिन्छ,’ उनले भने ।
एक्स्काभेटरले खन्दा मंगालसँगै एउटा ढलको पाइप देखिएको छ। त्यो प्रतिनिधिसभा भवनबाट आएको ढलको पाइप हो। ‘मंगालबाट हालसम्म पनि अलिअलि पानी बगिरहेको देखिएको छ,’ देवकोटाले भने।






