काठमाण्डौ । सोमबार काठमाडौबाट विराटनगरकालागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेर पुनः काठमाण्डौ फर्किएपछि केही घण्टा सम्पुर्ण मुलुकको ध्यान त्रिभुवन विमानस्थल तर्फ नै केन्द्रित थियो ।
पाइलट दलका सदस्य सहित ७७ जना रहेको जहाज सुरक्षित अवतरण भयो । विमानस्थलमा रहेकाहरुले पाइलटलाई भब्य स्वागत गरे । सबैले दोस्रो जुनी पाइयो भन्दै खुसी ब्यक्त गरे ।
विमान रोकिएपछि पुगेका पत्रकारहरुसंग कुरा गर्दा पनि कति पय यात्रुको आँखामा आँशु थियो । झण्डै दुई घण्टा आकाशमा ‘होल्ड’ गरेपछि जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो ।
उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । सो घटना पछि अहिले सामाजिक सञ्जालमा दुई तस्बिर भाइरल भएका छन् । जसमा पाइलट पूर्व राजा रानीसंग देखिएका छन् ।
यो तस्बिर संगै कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले सो जहाजमा पूर्वराजा रानी पनि भएको उल्लेख गरेका छन् ।फेसबुकको एउटा ग्रुपमा प्रेम कोइराला लेख्छन्,
‘काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा सवार पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमलसहित सम्पूर्णको जीवन सुरक्षित रह्यो, राजारानीसँगै रहेकाले प्रायः व्यक्तिहरूलाई ढुक्क थियो, जहाँ राजा छन्, त्यहाँ भगवान विष्णु रहन्छन् । जय देश जय नरेश ।’
उनको यो स्टटास पछि त्यसैलाई पछ्याउँदै धेरैले थाहा पाए कि त्यो विमानमा पुर्व राजारानी पनि रहेछन् भन्ने कुरा ।
के ज्ञानेन्द्र र कोमल विमानमा थिए ?
दुई घण्टादेखि काठमाण्डौको आकाशमा होल्ड भएर सकुशल अवतरण भएको जहाजमा को को भिआइपी थिए भनेर पनि खोजिएको थियो । राजनीतिक दलका कार्यक्रम भइरहन्छन् ।
कोही नेता पो कार्यक्रमका लागि गएका थिएकी भन्ने खोजी पनि भएको थियो । तर सो जहाजमा कोही भिआइपी नभएको बताइएको छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसँग क्याप्टेन शेर्पाको तस्बिर असली हो ।
तर सोमवारको तस्बिर भने होइन । भाइरल भइरहेकामध्ये एक तस्वीरमा सन् २०१० अक्टुबर ११ तारिख उल्लेख छ । अर्को तस्वीर सन् २०१२ तिरको भन्ने बुझिएको छ । त्यस कारण पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको उक्त तस्वीर सोमबारको नभएको पुष्टि भएको छ ।






