काठमाडौ । सांसदहरुले कहिले काँही आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको काम गर्दा चर्चामा आउने गर्छन । जनताको काम गर्नुपर्ने सांसदहरु जनता प्रति भन्दा आफ्नो परिवार प्रति बढी उत्तरदायी देखिएका कारण आलोचित पनि बन्ने गरेका छन् ।
यस्तै एक हर्कत प्रदेश २ की एक सांसदले गरेकी छन् । उनले आफ्ना श्रीमानले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिनु भन्दै यातायात कार्यालयलाई पत्र लेखेकी छन् । त्यसका लागि उनले सांसदको लेटर प्याड प्रयोग गरेकी छन् ।
सांसदको हैसियतमा श्रीमानले प्रयोग गरेको मोटरसाइकलको कर मिनाहा गरिदिन आग्रह सहित लेखेको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रदेश सांसद प्रमिला यादवले यातायात कार्यालयलाई यस्तो पत्र लेखेकी हुन् ।

उनका श्रीमा अशोक यादव स्वकीय सचिव पनि हुन् । पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयको नामाम उनले निवेदन लेखेकी हुन् । प्रमिला नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् ।
श्रीमतीले लेखेको त्यस्तो ब्यहोराको निवेदन लिएर उनका पति नै कार्यालयमा बुझाउन पुगेका थिए । तर, कार्यालयले कर छुट गर्न नमिल्ने जवाफ दिएको छ । त्यसपछि उनले कर वापत तिर्नुपर्ने रकम तिरेर फर्किएका थिए ।






