एजेन्सी । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पारखी हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ । यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन । कतिले त साँझको खानाको छाक नै पानीपुरी मात्रै खाएर बसिदिन्छन् ।
तर हामीले स्वादिलो मानेर खाने पानीपुरीमा पानीपुरी मसला बाहेक केके मिसाइएको हुनसक्छ भन्ने कुराको ज्ञान सम्भवतः कसैलाई हुँदैन । स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइन्छ भन्ने सुन्दा जोकसैलाई पनि पानीपुरी खान मन लाग्ने छैन । तर पानीपुरीमा पिसाब मिसाईएको एक भिडियो सार्वजनिक भएको छ ।
यो भिडियो नेपालको भने होइन । तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति लापरवाही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ । भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।
ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो । भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ ।






